|  

राष्ट्रिय मुद्दा ओझेलमा पर्न थालेको भन्दै ज्ञवालीको चिन्ता, सरकारमाथि कडा आलोचना

०२ असार, काठमाडाैं । नेकपा एमालेका नेता प्रदीपकुमार ज्ञवालीले प्रमुख राजनीतिक दलहरू आन्तरिक विवाद र शक्ति संघर्षमा केन्द्रित हुँदा मुलुकका महत्वपूर्ण राष्ट्रिय मुद्दा ओझेलमा पर्न थालेको बताएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले लोकतान्त्रिक दलहरू आन्तरिक मतभेद, संगठनात्मक चुनौती र नेतृत्वसम्बन्धी बहसमा अल्झिएको उल्लेख गरे। नीति, निर्णय, संगठन, कार्यशैली तथा नेतृत्वका विषयमा फरक मत हुनु स्वाभाविक भए पनि त्यसको समाधान पार्टीभित्रको विधि र प्रक्रियाअनुसार हुनुपर्ने उनको भनाइ छ। ज्ञवालीले दलहरू आन्तरिक एजेन्डामै व्यस्त रहँदा देश भने गम्भीर आर्थिक, सामाजिक र भूराजनीतिक चुनौतीको सामना गरिरहेको दाबी गरेका छन्। सीमामा चिया निर्यात अवरुद्ध हुँदा हजारौं श्रमिक र सयौं उद्यमी प्रभावित भएको, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान हुन नसकेको, धान रोप्ने सिजनमै मल अभाव कायम रहेको र महँगी निरन्तर बढिरहेको विषय उनले उठाएका छन्।

सरकारप्रति लक्षित टिप्पणी गर्दै उनले प्रधानमन्त्री समयको सदुपयोग गर्नुभन्दा हल्का गतिविधिमा केन्द्रित भएको आरोप लगाए। साथै, सरकारका जिम्मेवार पदाधिकारीहरूले व्यवसायीलाई धम्क्याउने शैली अपनाएको र श्रमजीवी तथा गरिखाने वर्ग अन्यायमा परेको उनको दाबी छ। ज्ञवालीले राष्ट्रपति संस्थाको सम्मानमा आँच पुग्ने गतिविधि, संसद्को भूमिकाको अवमूल्यन, मतदाताप्रति उदासीनता, लोकतान्त्रिक अधिकारको संकुचन, संवैधानिक निकायमाथिको हस्तक्षेप तथा राजनीतिक प्रतिशोधका प्रवृत्तिले मुलुकलाई अलोकतान्त्रिक दिशातर्फ धकेल्ने खतरा बढाएको बताएका छन्।

उनले राजनीतिक दलहरूले आन्तरिक विवादभन्दा माथि उठेर राष्ट्रिय हित, जनजीविका र जनचासोका सवाललाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याएका छन्। जनताको ध्यान दलभित्रका शक्ति संघर्षमा नभई दैनिक जीवनसँग जोडिएका समस्या समाधानमा केन्द्रित रहेको उनको निष्कर्ष छ।