|  

सरकारद्वारा सुरु गरिएको निःशुल्क स्वास्थ्य प्रणालीबाट हजारौँ लाभान्वित

०२ असार, काठमाडाैं । सरकारले विपन्न वर्गलाई लक्षित गर्दै सञ्चालनमा ल्याएको ‘निःशुल्क स्वास्थ्य पोर्टल’मार्फत निःशुल्क उपचार सेवा लिने बिरामीको संख्या १,२०० नाघेको छ।

वैशाख ३ गतेदेखि सञ्चालनमा आएको यो प्रणालीले देशभरका अस्पतालमा उपलब्ध निःशुल्क शैय्याबारे पारदर्शी जानकारी उपलब्ध गराउँदै आएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार पोर्टलमार्फत देशभरका अस्पतालमा कुल २३ हजार ४५६ शैय्या उपलब्ध रहेको विवरण अद्यावधिक गरिएको छ। कानुनी व्यवस्थाअनुसार त्यसमध्ये १० प्रतिशत अर्थात् २ हजार ३५६ शैय्या विपन्न, असहाय तथा बेवारिसे बिरामीका लागि पूर्णतः निःशुल्क छुट्याइएको छ। हाल ती निःशुल्क शैय्यामध्ये ३५४ शैय्यामा बिरामी उपचाररत छन् भने बाँकी २ हजार २ शैय्या खाली रहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार पोर्टलले अस्पतालमा निःशुल्क शैय्याको उपलब्धता, प्रयोग अवस्था र बाँकी क्षमताबारे नियमित रूपमा अद्यावधिक जानकारी दिने व्यवस्था गरेको छ। उनका अनुसार यसले पहिले देखिएको अस्पष्टता र पहुँचसम्बन्धी समस्यालाई घटाउन मद्दत गरेको छ। मन्त्रालयले संविधानको धारा ३५ ले सुनिश्चित गरेको आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउने हक कार्यान्वयन गर्न यो प्रणाली महत्वपूर्ण कदम भएको जनाएको छ। साथै, स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७ अनुसार कुल शैय्याको १० प्रतिशत निःशुल्क छुट्याउनुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याइएको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले पोर्टलले लक्षित वर्गले पाउने सेवामा पारदर्शिता र पहुँच सुनिश्चित गर्ने उद्देश्य राखेको बताइन्। उनका अनुसार पहिले नीतिगत व्यवस्था भए पनि व्यवहारिक रूपमा सबैले सेवा नपाउने समस्या देखिएकाले डिजिटल प्रणालीमार्फत निगरानी गर्न थालिएको हो।मन्त्रालयले देशभरका ११ संघीय अस्पतालमा अनुगमन समिति परिचालन गरी निःशुल्क सेवा कार्यान्वयनको अवस्था नियमित अनुगमन भइरहेको जनाएको छ। साथै, पोर्टललाई विस्तार गर्दै अन्य स्वास्थ्य सेवाको जानकारीसमेत उपलब्ध गराउने तयारी भइरहेको छ।