|  

आठ विश्वविद्यालयका उपकुलपति उम्मेदवारको अन्तर्वार्ता १३ असारदेखि

०२ असार, काठमाडाैं । आठ वटा विश्वविद्यालयका उपकुलपति पदका लागि सिफारिस गरिएका उम्मेदवारहरूको कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ताको मिति सार्वजनिक गरिएको छ।

उपकुलपति सिफारिस समितिले मंगलबार जारी गरेको सूचनाअनुसार प्रस्तुतीकरण र अन्तर्वार्ता कार्यक्रम १३ देखि १५ असारसम्म सञ्चालन हुने भएको हो। तालिकाअनुसार त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयका उम्मेदवारहरूको प्रस्तुतीकरण तथा अन्तर्वार्ता १३ असारमा हुनेछ।

त्यसैगरी पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालयका उम्मेदवारहरूको अन्तर्वार्ता १४ असारमा तय गरिएको छ। पोखरा विश्वविद्यालय र राजर्षी जनक विश्वविद्यालयका उम्मेदवारहरूका लागि भने १५ असारमा प्रस्तुतीकरण तथा अन्तर्वार्ता सञ्चालन गरिने समितिले जनाएको छ। समितिले उम्मेदवारहरूलाई तोकिएको समयभन्दा कम्तीमा एक घण्टा अगावै सक्कल कागजातसहित उपस्थित हुन निर्देशन दिएको छ। उम्मेदवारहरूले आफ्नो कार्ययोजना तथा सम्बन्धित विश्वविद्यालयको विकाससम्बन्धी अवधारणा प्रस्तुत गर्नेछन्। त्यसपछि उनीहरूको शैक्षिक योग्यता, अनुभव, नेतृत्व क्षमता र भावी दृष्टिकोणका आधारमा अन्तर्वार्ता लिइनेछ। अन्तर्वार्ता सम्पन्न भएपछि समितिले योग्य उम्मेदवारहरूको नाम सिफारिस गर्ने प्रक्रिया अघि बढाउने जनाएको छ।