|  

भारतीय अवरोधले थलियो नेपाली चिया उद्योग, सरकार मौन रहेको भन्दै संसद्मा प्रश्न

०३ असार, काठमाडाैं । नेपाली चिया निर्यातमा देखिएको संकटबारे सरकार गम्भीर नभएको भन्दै प्रतिनिधिसभामा फेरि आवाज उठेको छ।

नेपाली कांग्रेसका सचेतक निश्कल राईले बुधबार संसद्मा बोल्दै भारतीय पक्षले लगाएको नयाँ मापदण्डका कारण चिया उद्योग धराशायी बन्दै गएको तर सरकारले कुनै ठोस पहल नगरेको आरोप लगाए। उनका अनुसार गुणस्तर परीक्षणको नाममा भारतले नेपाली चियाको निर्यात प्रक्रियामा कडाइ गरेपछि चिया उद्योगी र किसान गम्भीर समस्यामा परेका छन्। भारतीय चिया बोर्डले लागू गरेको नयाँ व्यवस्थाअनुसार निर्यातअघि गुणस्तर परीक्षण अनिवार्य गरिएको छ भने प्रतिवेदन आउन दुई साताभन्दा बढी समय लाग्ने गरेको छ। प्रतिवेदन प्राप्त नभएसम्म चिया बिक्री गर्न नपाइने नियमले उद्योगी थप मारमा परेका छन्।

राईले यही व्यवस्थाका कारण इलामको सूर्योदय नगरपालिकाभित्र मात्रै ५३ भन्दा बढी र जिल्लाभर ८३ भन्दा बढी चिया उद्योग बन्द हुन पुगेको बताए। उद्योग बन्द हुँदा किसानले उत्पादन गरेको हरियो चिया खेर गएको, श्रमिकहरूको रोजगारी संकटमा परेको र उद्योगीहरू बैंकको ऋण तथा ब्याज तिर्न नसक्ने अवस्थामा पुगेको उनको भनाइ छ। संसद्मा बोल्दै उनले चिया क्षेत्रको समस्या पटक–पटक उठाए पनि सरकारले बेवास्ता गरेको आरोप लगाए। प्रधानमन्त्री, परराष्ट्रमन्त्री, कृषिमन्त्री तथा उद्योग–वाणिज्यसँग सम्बन्धित मन्त्रीहरूसमक्ष उद्योगी तथा सरोकारवालाले लिखित र मौखिक रूपमा समस्या राखिसकेको भए पनि समाधानका लागि प्रभावकारी कदम नचालिएको उनले बताए।

राईले चिया निर्यातमा देखिएको अवरोध तत्काल हटाउन कूटनीतिक तथा व्यापारिक पहल गर्न सरकारसँग माग गरे। साथै, दीर्घकालीन समाधानका लागि तेस्रो मुलुकमा नेपाली चियाको बजार विस्तार गरी निर्यातलाई विविधीकरण गर्नुपर्नेमा पनि जोड दिए। नेपाली अर्थतन्त्र र पूर्वी पहाडी जिल्लाका हजारौँ किसान तथा श्रमिकसँग प्रत्यक्ष जोडिएको चिया क्षेत्र संकटमा पर्दा सरकारको चासो नदेखिएको भन्दै उनले सदनमार्फत जवाफ दिन आग्रह गरेका छन्।