|  

संसद्मा साम्पाङ र झा विवाद : ‘बालहठ नगर्नुस्, नियम पढ्नुस्’ भन्दै झाको आपत्ति

०३ जेठ, काठमाडाैं । प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल चलिरहेका बेला बुधबार संसद्मा केहीबेर रोचक बहस देखिएकाे छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धित विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिइरहेका क्रममा सांसद हर्कराज राई (साम्पाङ) र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाबीच नियमावलीलाई लिएर विवाद भएको हो। उद्योगमन्त्री गौरी कुमारी संसद्को रोष्ट्रमबाट सांसदहरूको जिज्ञासाको जवाफ दिइरहेकी थिइन्। सोही क्रममा श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका सांसद साम्पाङ उठेर आफ्नो असन्तुष्टि दोहोर्‍याउन थालेपछि सभामुख डोलप्रसाद अर्यालले हस्तक्षेप गरेका थिए। सभामुखले स्पष्टीकरणमाथि पुनः स्पष्टीकरण दिन नमिल्ने भन्दै सांसद साम्पाङलाई बस्न आग्रह गरे पनि उनले आफ्नो आपत्ति जनाइरहे। त्यसपछि रास्वपा सांसद मनिष झाले नियमापत्तिमार्फत संसद्को ध्यानाकर्षण गराए।

झाले प्रतिनिधिसभा नियमावलीको दफा ५४ र ५५ उल्लेख गर्दै मन्त्रीलाई आफ्नो जवाफ अन्तिम रूपमा राख्ने अधिकार रहेको बताए। उनले प्रश्नोत्तर प्रक्रियालाई अनावश्यक रूपमा लम्ब्याउन नहुने धारणा व्यक्त गरे। “नियमावलीमै मन्त्रीले आवश्यक ठानेमा थप जवाफ नदिने व्यवस्था छ। एउटै विषयमा पटक–पटक विवाद गर्नु उचित होइन,” उनले भने। सांसद साम्पाङतर्फ संकेत गर्दै झाले नियमावली अध्ययन गर्न आग्रहसमेत गरे। “नियम-कानुनको कुरा गर्ने हो भने नियम स्पष्ट छ। पटक–पटक बालहठ नगर्नुस्, नियम पढ्नुस्,” उनले संसद्मै टिप्पणी गरे। बजेटमाथिको छलफलका बीच देखिएको यो घटनाले केहीबेर प्रतिनिधिसभाको ध्यान मन्त्रालयगत छलफलबाट हटाएर सांसदहरूबीचको प्रक्रियागत विवादतर्फ केन्द्रित गरेको थियो।