|  

भरतपुरमा कानुन पालना नगर्ने २९ सहकारी संस्था खारेज

०३ असार, काठमाडाैं । भरतपुर महानगरपालिकाले अनुमति लिएर पनि लामो समयदेखि निष्क्रिय रहेका र कानुन पालना नगर्ने २९ सहकारी संस्थाको दर्ता खारेज गरेको छ।

महानगरको सहकारी तथा रोजगार प्रवर्द्धन शाखाले बुधबार सूचना जारी गर्दै ती संस्थाको दर्ता प्रमाणपत्र स्वतः रद्द भएको जनाएको हो। खारेज भएका संस्थामध्ये अधिकांश दुग्ध सहकारी रहेका छन्। महानगरका अनुसार ती सहकारीहरूले सहकारी व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) मा नियमित विवरण अद्यावधिक नगरेको, लेखा परीक्षण र वार्षिक साधारणसभा नगरेको तथा नियामक निकायलाई प्रतिवेदन नबुझाएको पाइएपछि कारबाही गरिएको हो। स्थलगत अनुगमनमा केही सहकारीको कार्यालय नै नपाइएकाले सञ्चालकहरू सम्पर्कविहीन रहेको र लामो समयदेखि आर्थिक गतिविधि समेत बन्द अवस्थामा रहेको निष्कर्ष निकालिएको महानगरले जनाएको छ।

भरतपुर महानगरपालिकाले ‘भरतपुर महानगरपालिका सहकारी ऐन २०७५’ अनुसार खारेजी प्रक्रिया अघि बढाउँदै अन्तिम चरणमा सूचना जारी गरी कारणसहित जवाफ दिने अवसर दिए पनि कुनै प्रतिक्रिया नआएपछि दर्ता खारेज गरिएको हो।