|  

नेप्से स्थिर, कारोबार घट्यो; केही कम्पनीमा तीव्र उतार-चढाव

०३ असार, काठमाडाैं । नेपाली सेयर बजार बुधबार अघिल्लो दिनकै स्तरमा स्थिर देखिएको छ।

नेप्से परिसूचक केवल ०.०८ अंकले बढ्दै २७०५ मा कायम रह्यो। अघिल्ला चार दिन लगातार गिरावट आएको बजार आज भने न्यून उतार–चढावमा सीमित रह्यो। कारोबार रकम भने घटेर ३ अर्ब ६१ करोडमा झरेको छ। अघिल्लो दिन ४ अर्ब ४ करोडको कारोबार भएको थियो। आज १२० कम्पनीको मूल्य बढ्दा १३५ को घट्यो भने १६ कम्पनी स्थिर रहे।

समूहगत सूचकमा अधिकांश क्षेत्र घटे पनि सबैको परिवर्तन १ प्रतिशतभन्दा कम रह्यो। बैंकिङ, बीमा, होटल, माइक्रोफाइनान्स, हाइड्रोपावर लगायतका सूचकमा सामान्य गिरावट देखियो भने विकास बैंक समूह हल्का बढ्यो। आज दुई कम्पनीमा उल्लेख्य वृद्धि देखियो। सोपान फर्मास्युटिकल्स र एपोलो हाइड्रोपावरको सेयर मूल्य १५ प्रतिशतले बढ्यो। त्यस्तै एनआरएन इन्फ्रास्ट्रक्चरमा पनि करिब ४ प्रतिशत वृद्धि भयो।

यता दोल्ती पावर र कालिन्चोक हाइड्रोपावरमा भने गिरावट देखियो। कारोबारका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, रिलायन्स स्पिनिङ मिल्स, सेन्ट्रल फाइनान्स, बुंगल हाइड्रो र आँखुखोला जलविद्युत् कम्पनी अग्रस्थानमा रहे।