|  

दूरसञ्चार सेवा विस्तारका लागि ६ अर्ब रुपैयाँभन्दा बढी लगानी हुने

०३ असार, काठमाडाैं । सरकारले देशभर दूरसञ्चार सेवा विस्तार तथा गुणस्तर सुधारका लागि ठूलो पूर्वाधार योजना अघि बढाएको छ।

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले प्रतिनिधिसभाको बैठकमा जानकारी दिँदै करिब १,६०० नयाँ टेलिफोन टावर तथा सम्बन्धित पूर्वाधार निर्माण प्रक्रिया अघि बढाइएको बताएका छन्।मन्त्री तिमिल्सिनाका अनुसार ग्रामीण तथा दुर्गम क्षेत्रमा इन्टरनेट र दूरसञ्चार सेवाको गुणस्तर कमजोर रहेको गुनासो बढ्दै गएको र त्यसको समाधानका लागि मन्त्रालयले प्राथमिकताका साथ काम गरिरहेको छ। आगामी आर्थिक वर्षमा नेपाल टेलिकममार्फत मात्रै ६ अर्ब रुपैयाँभन्दा बढी लगानी हुने तयारी रहेको पनि उनले बताए।

हाल देशभर ४,८२९ साइट सञ्चालनमा छन्। प्रदेशगत रूपमा हेर्दा कोशीमा ७६०, मधेशमा ५६८, बागमतीमा १,२७७, गण्डकीमा ५९९, लुम्बिनीमा ८१९, कर्णालीमा ३०५ र सुदूरपश्चिममा ५०१ साइट सञ्चालनमा रहेका छन्। सेवाको पहुँच र गुणस्तर विश्लेषणपछि थप १,४४३ साइट आवश्यक रहेको अध्ययनले देखाएको छ। सोअनुसार कोशीमा २५७, मधेशमा २२८, बागमतीमा ३८९, गण्डकीमा ७६, लुम्बिनीमा २००, कर्णालीमा १२१ र सुदूरपश्चिममा १७२ नयाँ साइट आवश्यक देखिएको हो। नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमको मूल्याङ्कनका आधारमा यी पूर्वाधार विस्तार भएपछि सेवा गुणस्तर र पहुँचमा उल्लेखनीय सुधार हुने अपेक्षा गरिएको छ। आवश्यक उपकरण अधिकांश विदेशबाट आयात गर्नुपर्ने भएकाले केही समय लाग्ने भए पनि काम समयमै सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको मन्त्रालयले जनाएको छ।

मन्त्री तिमिल्सिनाले नागरिकलाई गुणस्तरीय सञ्चार सेवा उपलब्ध गराउनेतर्फ सरकार संवेदनशील रहेको र काम तीव्र गतिमा अघि बढिरहेको पनि स्पष्ट पारेका छन्।