|  

मस्कोको मुख्य  तेल रिफाइनरीमा युक्रेनको शक्तिशाली ड्रोन आक्रमण

४ असार, काठमाडौं । युक्रेनले बिहीबार बिहान रुसको राजधानी मस्कोस्थित एक प्रमुख तेल रिफाइनरीलाई निशाना बनाउँदै पुनः शक्तिशाली ड्रोन आक्रमण गरेको छ ।

रुसी अधिकारीहरूका अनुसार युक्रेनले एकै हप्ताभित्र सो रिफाइनरीमा आक्रमण गरेको यो दोस्रो पटक हो। पछिल्लो समय युक्रेनले रुसका ऊर्जा पूर्वाधारहरूलाई लक्षित गरी लामो दुरीको हवाई आक्रमण तीव्र पारेको छ।

मस्को बाहिर पर्ने झुकोभ्स्की क्षेत्रमा एउटा ड्रोन आवासीय भवनमा खस्दा केही बार्दलीहरूमा क्षति पुगेको छ, तर मानवीय क्षति भने भएको छैन।

ड्रोनका भग्नावशेषहरू अन्य स्थानमा खस्दा एउटा फिटनेस सेन्टर, औद्योगिक क्षेत्र, सपिङ सेन्टर र एउटा निजी घरमा क्षति पुगेको छ। यसैबिच, रुसको दक्षिणी रोस्तोभ क्षेत्रमा भएको छुट्टै ड्रोन आक्रमणमा परी एक जना सर्वसाधारणको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।