|  

रास्वपाको महाधिवेशनमा करिव ४ करोड खर्च हुने अनुमानः महामन्त्री बुर्लाकोटी

 

०४ असार, काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी महाधिवेशनका लागि करिव ४ करोड रुपैयाँ खर्च हुने अनुमान गरेको जनाएको छ ।

बिहीवार पार्टीको सचिवालय बैठकको निर्णय सुनाउँदै पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले उक्त जानकारी दिएका हुन् । उनका अनुसार महाधिवेशनको खर्च प्रतिनिधिहरूबाट उठाइने दर्ता शुल्क र पार्टीका सदस्य तथा शुभेच्छुकहरूबाट प्राप्त सहयोग मुख्य स्रोत हुने बताए । उनका अनुसार महाधिवेशन व्यवस्थापनका लागि आवश्यक सेवा तथा सामग्री उपलब्ध गराउने प्रदायक संस्थाहरुसंग आवश्यक सहुलियतका विषयमा छलफल भइरहेको छ । केही सेवा प्रदायकहरूले नाफा नलिई वा न्यूनतम शुल्कमा सेवा उपलब्ध गराउने प्रस्ताव गरेको उनको दाबी छ । क्याटरिङ लगायत धेरै खर्च हुने व्यवसायीहरूले नाफा नलिई लागतका आधारमा मात्रै शुल्क लिने प्रस्ताव गरेको उनको भनाई छ । उनले भने, ‘हाम्रो महाधिवेशनको खर्च करिब ४ करोड जति हुने अनुमान छ । त्यो मध्ये प्रतिनिधिहरू हामीले रजिस्ट्रेसन शुल्कहरू तिर्छौँ र बाँकी रकम पार्टीकै सदस्यहरू, शुभचिन्तकहरूबाट सहयोगहरू आउँछ । हामीले सम्बन्धित प्रोभाइडर, सर्भिस प्रोभाइडर अथवा गुड्स प्रोभाइडरहरूसंग छुट दिने भन्ने विषयमा छलफल भइराखेको छ । जस्तै क्याटरिङमा हाम्रो ठूलो खर्च हुन्थ्यो, क्याटरिङवालाले नै हामी नाफा लिँदैनौँ, हामी नाफा कटाएर मात्रै तपाईंहरूलाई चार्ज गर्छौँ भन्ने यस्तो खाले प्रस्तावहरू आएको छ । यो सबै प्रस्तावहरू हेर्दा खेरि र सबै साथीभाइहरूको उत्साह हेर्दा खेरि महाधिवेशनको खर्च हामीले जुटाउन सक्छौँ ।’

उनले विभिन्न क्षेत्रबाट प्राप्त हुने सहयोग र कार्यकर्ताको उत्साहले पनि महाधिवेशनका लागि आवश्यक खर्च जुटाउन सकिने आधार दिएको बताएका छन् ।