|  

सरकारले लामो समयदेखि अलपत्र परेका आयोजनाहरुलाई छिटो सम्पन्न गर्नेगरी बजेट विनियोजन गरेको छः ऊर्जामन्त्री श्रेष्ठ

०४ असार, काठमाडाैं । ऊर्जा,जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले लामो समयदेखि अलपत्र परेका आयोजनाहरुलाई छिटो सम्पन्न गर्ने र यसैवर्ष पूरा हुने आयोजनामा बजेट विनियोजन गर्दा प्राथमिकता दिएको स्पष्ट पारेका छन् ।

बिहीवार प्रतिनिधि सभा बैठकमा आफनो मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले उक्त कुरा बताएका हुन् । मन्त्री श्रेष्ठले बजेट विनियोजनामा यसै वर्ष पूरा हुने आयोजनामा पनि जोड दिएको बताए । उनले सरकारले आगामी आर्थिक वर्षमा ५ हजार ५३५ मेघावाट विद्युत उत्पादन हुने प्रक्षेपण गरेको पनि बताए । मन्त्री श्रेष्ठले भने,‘यस पटक हामीले बजेट छर्ने भन्दा पनि लामो समयदेखि अलपत्र परेका आयोजनाहरुलाई छिटो सम्पन्न गर्ने र यसैवर्ष पूरा हुने आयोजनामा बजेट विनियोजन गर्दा प्राथमिकता दिएको विषय म सम्माननीय सभामुखज्यूमार्फत गरिमामय संसदमा निवेदन गर्न चाहन्छु । आगामी आर्थिक वर्ष भित्र जलविद्युत आयोजनाबाट ६७० मेघावाट र सौर्य आयोजनाबाट ३ सय ७० मेघावाट गरी कूल एक हजार ४० मेघावाट विद्युत राष्ट्रिय प्रशारण प्रणालीमा आवद्ध हुँदा कुल जडित क्षमता ५ हजार ५३५ मेघावाट पु¥याउने प्रक्षेपण गरिएको छ । साथै आगामी १० वर्षमा ३० हजार मेघावाट विद्युत उत्पादन गर्ने लक्ष्य सरकारले लिएको पनि म स्मरण गराउन चाहन्छु ।’ 

मन्त्री श्रेष्ठले सरकारले उत्पादित विद्युत खेर नजाने नदिने गरी आवश्यक गृहकार्य गरिरहेको पनि बताएका छन् ।