|  

नेपालमा तीन मौसमी वायुको प्रभावः यी प्रदेशमा वर्षाको सम्भावना 

५ असार, काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जसको प्रभावले कोशी प्रदेश तथा अधिकांश हिमाली र पहाडी क्षेत्रमा बादल लागेको छ भने अन्य तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी प्रदेशका तराई क्षेत्र र मधेस प्रदेशका एक / दुई स्थानमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ।
यस्तै, लुम्बिनी र सुदूरपश्चिमका केही तराई क्षेत्रमा तातो लहर तथा बागमती र गण्डकीका तराई क्षेत्रमा तातो दिनको सम्भावना रहेको छ।

राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ।