|  

जापानको एक विद्यालयमा आगलागी,१० जना घाइते,३३० जनाको उद्दार

५ असार, काठमाडौं । जापानको टोकियोमा रहेको एक प्राथमिक विद्यालयमा शुक्रबार आगलागी भएको छ।

आगलागीको समयमा विद्यालयमा लगभग ३३० विद्यार्थी र शिक्षकहरू उपस्थित थिए। टोकियोको किता वार्डमा रहेको ताकिनोगावा दैसान प्राथमिक विद्यालयमा बिहान ११ बजेतिर यो घटना भएको थियो। विद्यालयको विद्यालयको चार तले भवनको माथिल्लो तल्लामा रहेको संगीत कोठा नजिकै आगो सुरू भएको थियो।

चौथो तल्लामा रहेको लगभग २०० वर्ग मिटर क्षेत्रफलमा आगोले क्षति पुर्‍याएको छ। ठूलो संख्यामा दमकलहरू घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएका थिए।स्थानीय अधिकारीहरूका अनुसार दुर्घटनामा जम्मा १० जना घाइते भएका छन्।

धूवाँले श्वास फेर्नबाट सातजना विद्यार्थी प्रभावित भएका छन्। एक विद्यार्थी लडेर घाइते भएका छन् भने दुई शिक्षक पनि घाइते भएका छन्। यद्यपि,सबैको अवस्था स्थिर रहेको र कसैको पनि ज्यान जोखिममा नरहेको बताइएको छ।