|  

प्रहरी किन पुग्यो मन्त्रीको घरमा ?

०५ असार, काठमाडाैं । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीको विराटनगरस्थित सरकारी निवासमा बिहीबार राति प्रहरी पुगेपछि घटनाले चर्चा पाएको छ।

मन्त्रीको सचिवालयले प्रहरी पर्खाल नाघेर निवासभित्र प्रवेश गरेको आरोप लगाएको छ भने प्रशासनले फरार अभियुक्तको खोजीका क्रममा प्रहरी त्यहाँ पुगेको स्पष्ट पारेको छ। मन्त्रीको निवास विराटनगर–३ स्थित ल क्याम्पस नजिक रहेको छ। सचिवालयका अनुसार राति करिब ११ बजेतिर प्रहरी टोली निवास परिसरमा प्रवेश गरेको थियो। घटनाका बेला मन्त्री पराजुली भने निवासमा उपस्थित थिएनन् ।

यता, मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेल ले कर्तव्य ज्यान मुद्दाका एक फरार अभियुक्तको खोजी गर्ने क्रममा प्रहरी उक्त स्थानसम्म पुगेको बताएका छन्। उनका अनुसार, अभियुक्तले विगतमा सोही घरमा कोठा भाडामा लिएर बसेको सूचना प्रहरीसँग रहेको थियो। कटेलले अपरेसनमा खटिएको टोलीलाई उक्त घर मन्त्रीको सरकारी निवास भएको जानकारी नभएको दाबी गरे। उनका अनुसार, चितवनबाट फरार भई आएको भनिएका अभियुक्त त्यहाँ लुकेर बसेको हुनसक्ने आशंकामा प्रहरीले निगरानी तथा खोजी अभियान चलाएको थियो। प्रमुख जिल्ला अधिकारी कटेलले मन्त्रीलाई लक्षित गरेर कुनै कारबाही नभएको दोहोर्‍याउँदै प्रहरी केवल शंकास्पद व्यक्तिको खोजीमा त्यहाँ पुगेको बताए। उनले खोजीका क्रममा प्रहरी पुग्दा सम्बन्धित अभियुक्त भने त्यहाँ नभेटिएको र सम्भवतः त्यसअघि नै अन्यत्र सरेको जानकारी प्राप्त भएको बताए। तर मन्त्रीको सचिवालयले भने प्रहरीलाई उक्त घर मन्त्रीको निवास भएको जानकारी हुँदाहुँदै पनि जबर्जस्ती प्रवेश गरिएको आरोप लगाएको छ। घटनाबारे प्रशासन र मन्त्री पक्षबीच फरक–फरक दाबी सार्वजनिक भएपछि विषयले थप चासो पाएको छ।