|  

रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक छः सांसद न्यौपाने

०५ असार, काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रञ्जु न्यौपानेले पार्टीको आगामी राष्ट्रिय महाधिवेशनमा सभापति रवि लामिछानेकै नेतृत्व आवश्यक रहेको बताएका छन् ।

शुक्रवार संघीय संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद न्यौपानेले पार्टीको संगठन सुदृढीकरणका लागि यो पहिलो महाधिवेशन भएकाले लामिछानेको नेतृत्व अपरिहार्य रहेको जिकिर गरेका छन् । सांसद न्यौपानेले चितवनमा आयोजना हुने महाधिवेशनलाई देश-विदेशबाट चासोका साथ हेरिएको बताए । महाधिवेशनमा आफ्नो उम्मेदवारीका विषयमा स्पष्ट पार्दै उनले सुरुमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने र त्यसपछि पदाधिकारीका लागि अघि बढ्ने बताए । उनले भने,‘महाधिवेशन कुनैपनि राजनीतिक दलको दिशा र नीति तय गर्ने महत्त्वपूर्ण माध्यम हो । संगठनलाई अझ बलियो बनाउन पहिलो महाधिवेशनमा रवि लामिछाने नै सभापति हुनुपर्छ भन्ने मेरो व्यक्तिगत र राजनीतिक बुझाइ छ ।पदाधिकारी बन्नका लागि पहिला केन्द्रिय सदस्यमा निर्वाचित हुनुपर्ने वैधानिक प्रक्रिया छ, त्यसैले म शुरुमा केन्द्रिय सदस्यमै लड्छु ।’ 

पार्टीभित्रको असन्तुष्टि र सामाजिक सञ्जालमा भइरहेका विभिन्न चर्चाका विषयमा टिप्पणी गर्दै उनले रास्वपाप्रतिको बढ्दो आकर्षणका कारण यस्ता छलफल हुनु स्वाभाविक भएको उल्लेख गरे। पार्टी विभाजनको सम्भावनालाई नकार्दै उनले नेतृत्व तहबाट त्यस्ता गतिविधिमा कुनै समर्थन नरहेको प्रस्ट पारे । महाधिवेशनको तयारी र सुरक्षा व्यवस्थाका बारेमा जानकारी दिँदै न्यौपानेले विभिन्न उपसमितिहरू क्रियाशील रहेको र आफू स्वास्थ्य उपसमितिमा रहेर काम गरिरहेको बताएका छन् ।