|  

६ दिन ढिलो गरी नेपालमा भित्रियो मनसुन,यी स्थानमा भारी वर्षा हुने

६ असार, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले शुक्रबार कोशी प्रदेशबाट यस वर्षको मनसुन नेपाल प्रवेश गरेको घोषणा गरेको छ ।

सामान्यतया जुन १३ ९जेठ ३०० मा भित्रिने मनसुन यसपटक एल निनो प्रणालीको प्रभावका कारण ६ दिन ढिलो गरी आएको हो । मनसुनसँगै कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी र मधेसका तराई क्षेत्रमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ। साथै लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो लहर तथा बागमती र गण्डकीका केही तराई क्षेत्रमा गर्मी कायम रहने सम्भावना छ।

आज राति पनि कोशी, बागमती र गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा वर्षा जारी रहने अनुमान छ । कोशी र गण्डकीका पहाडी भूभाग तथा कोशीको तराईका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।