|  

रास्वपा नेताहरूलाई रविको सन्देश: सकारात्मक प्रतिस्पर्धा गरौं

०६ असार,काठमाडाैं । भरतपुरमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको अन्तिम बैठकमा सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्तालाई स्वस्थ र सकारात्मक प्रतिस्पर्धाको भावना अपनाउन आग्रह गरेका छन्।

महाधिवेशनको पूर्वसन्ध्यामा दियालो फुडल्यान्डमा सम्पन्न बैठकलाई सम्बोधन गर्दै लामिछानेले पार्टीको वर्तमान अवस्था नेताहरू र कार्यकर्ताहरूको निरन्तर साथ, विश्वास तथा मेहनतको परिणाम भएको बताए। उनले आन्तरिक प्रतिस्पर्धालाई लोकतान्त्रिक अभ्यासका रूपमा ग्रहण गर्नुपर्ने उल्लेख गर्दै स्वस्थ प्रतिस्पर्धाबाट पार्टी अझ सशक्त र परिपक्व बन्ने विश्वास व्यक्त गरे। उनले पार्टीभित्र जुनसुकै जिम्मेवारीमा रहे पनि सबै सदस्यले जिम्मेवार भूमिका निर्वाह गर्दै संगठनलाई मजबुत बनाउन योगदान दिनेमा आफू विश्वस्त रहेको बताए। लामिछानेका अनुसार पार्टीका नेता-कार्यकर्ताको अनुभव र योगदान समाजले सकारात्मक रूपमा ग्रहण गर्ने अपेक्षा गरिएको छ।

सम्बोधनका क्रममा उनले कठिन परिस्थितिमा समेत नेतृत्वप्रति विश्वास कायम राख्दै साथ दिएकोमा पार्टी पंक्तिलाई धन्यवाद दिएका थिए। “अप्ठेरो समयमा पनि हामीसँगै छौं भनेर उभिनुभएकोमा म सम्पूर्ण साथीहरूप्रति आभारी छु,” उनले भने। रास्वपाले महाधिवेशनमार्फत आगामी नेतृत्व चयन र संगठन सुदृढीकरणको तयारी गरिरहेका बेला सभापति लामिछानेको यो सन्देशलाई पार्टीभित्र एकता र सहकार्यको आह्वानका रूपमा हेरिएको छ।