|  

नेताको अनुहारभन्दा विचार र निष्ठा मुख्यः पूर्वप्रधानमन्त्री नेपाल

०६ असार, काठमाडाैं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले पार्टीप्रति निष्ठा, समर्पण र विश्वास नभएका व्यक्तिहरूबाट सङ्गठन अघि बढ्न नसक्ने बताएका छन् ।

शनिवार पेरिस डाँडामा आयोजित एक कार्यक्रममा बोल्दै नेता नेपालले पार्टीको अनुशासन र विचारलाई आत्मसात नगर्ने प्रवृत्तिले राजनीतिक विकासमा बाधा पुग्ने उल्लेख गरेका हुन् । सम्बोधनका क्रममा उनले नेताको बाहिरी स्वरूप वा अनुहारभन्दा उसले अँगाल्ने विचार र दिने सन्देश महत्वपूर्ण हुनेमा जोड दिए । नेता नेपालले पार्टीभित्रै रहेर सधैँ गुटबन्दी गर्ने, निराशा फैलाउने र झमेला मात्रै उत्पन्न गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने बताए । उनले यस्ता नकारात्मक गतिविधि गर्नेहरूलाई सुक्ष्म रूपमा हेर्नुपर्ने र चिन्नुपर्ने आवश्यकता रहेको समेत औँल्याए । उनले भने,‘जुन मानिसमा पार्टीप्रति निष्ठा छैन, समर्पण छैन र विश्वास छैन, त्यस्ता मानिसहरूले पार्टीलाई अगाडि बढाउन सक्दैनन् । म तपाईंहरूलाई फेरि जोड दिएर भन्न चाहन्छु-यो कुरा तपाईंहरूको दिमागमा राम्रोसँग बसोस्, नेताको अनुहारले मात्र हुँदैन । त्यो नेताले कस्तो विचार अँगालेको छ, कस्तो सन्देश दिने गरेको छ, ऊ सङ्गठित रहेको पार्टीको अनुशासनको पालना गर्छ कि गर्दैन, पार्टीले अगाडि सारेको विचारप्रति प्रतिवद्ध छ कि छैन, त्यसप्रति उसको विश्वास छ कि छैन, सङ्गठनलाई अघि बढाउन रचनात्मक तथा सकारात्मक भूमिका खेलिरहेको छ कि छैन, वा सधैँ गुटबन्दी गर्ने, निराशा फैलाउने र झमेला खडा गर्ने काममा मात्र लागेको छ । यी सबै कुराहरू पनि हेर्नु, बुझ्नु र मूल्याङ्कन गर्नु आवश्यक हुन्छ ।’

उनले पूर्वप्रधानमन्त्री झलनाथ खनाल र नेता वामदेव गौतमको कार्यशैलीप्रति लक्षित गर्दै पार्टीको मूल विचारप्रति प्रतिवद्ध नभई सधैँभरि विवाद र गुटबन्दीमा अल्झिने नेताहरूले सङ्गठनलाई क्षति पु¥याउने बताए ।