|  

जापानले ४८ वर्षपछि भिसा शुल्क बढायो, सिङ्गल इन्ट्रीमा ५ गुणासम्म वृद्धि

०६ असार, काठमाडाैं । जापान सरकारले करिब पाँच दशकपछि भिसा शुल्क संशोधन गर्दै सिङ्गल र मल्टिपल इन्ट्री भिसाको शुल्कमा उल्लेख्य वृद्धि गर्ने निर्णय गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सन् १९७८ यता स्थिर रहेको भिसा शुल्क परिमार्जन गर्ने प्रस्तावलाई स्वीकृति दिएको हो। नयाँ व्यवस्थाअनुसार सिङ्गल इन्ट्री भिसाको शुल्क हालको ३,००० येनबाट बढाएर १५,००० येन पुर्‍याइनेछ।

त्यस्तै, मल्टिपल इन्ट्री भिसाको शुल्क ६,००० येनबाट बढाएर ३०,००० येन निर्धारण गरिएको छ।सरकारले जनाएको अनुसार संशोधित शुल्क जुलाई १ वा त्यसपछि दर्ता हुने भिसा आवेदनमा लागू हुनेछ। विदेशमन्त्री तोसिमित्सु मोतेगीले हालको शुल्क संरचना १९७८ मा तय गरिएको स्मरण गराउँदै मुद्रास्फीति र विनिमय दरमा आएको दीर्घकालीन परिवर्तनलाई ध्यानमा राखेर शुल्क संशोधन गरिएको बताए। उनका अनुसार शुल्क वृद्धिले जापान आउने पर्यटकको सङ्ख्यामा तत्काल कुनै ठूलो प्रभाव पार्ने अपेक्षा गरिएको छैन। नेपालबाट जापान जान चाहने आवेदकका लागि पनि नयाँ शुल्क लागू हुनेछ। यसअघि ३,००० येन अर्थात् करिब २,८५० नेपाली रुपैयाँ लाग्ने सिङ्गल इन्ट्री भिसाको शुल्क अब करिब १४,२५० रुपैयाँ पुग्नेछ। मल्टिपल इन्ट्री भिसाको शुल्क पनि करिब २८,५०० रुपैयाँ पुग्ने अनुमान गरिएको छ।

जापानको संसदको माथिल्लो सदनले हालै विदेशी नागरिकको बसोबास तथा भिसासम्बन्धी विभिन्न प्रशासनिक शुल्क बढाउने विधेयक पारित गरेको थियो। यसअघि तल्लो सदनबाट स्वीकृत भइसकेको उक्त विधेयकले बसाइको अवधि थप, बसोबासको हैसियत परिवर्तन तथा स्थायी बसोबास आवेदनका शुल्कको कानुनी सीमा उल्लेख्य रूपमा बढाएको छ। नयाँ व्यवस्थाअनुसार स्थायी बसोबास आवेदन शुल्क १०,००० येनबाट बढाएर २,००,००० येनसम्म पुर्‍याइनेछ। बसोबासको हैसियत परिवर्तन र अवधि थपका शुल्क पनि हालको ५,५००-६,००० येनबाट बढाएर १०,००० देखि ७०,००० येनसम्म पुर्‍याउने प्रस्ताव गरिएको छ। सरकारले यी परिवर्तनहरू आगामी आर्थिक वर्ष समाप्त हुनुअघि, अर्थात् मार्च २०२७ भित्र लागू गर्ने लक्ष्य राखेको छ।

जापानमा विदेशी नागरिकको सङ्ख्या सन् २०२५ को अन्त्यसम्म ४१ लाख ३० हजार पुगेको सरकारी तथ्याङ्क छ, जुन अहिलेसम्मकै उच्च हो। सरकारका अनुसार शुल्क वृद्धिबाट प्राप्त अतिरिक्त राजस्व विदेशी जनसङ्ख्या व्यवस्थापन, प्रशासनिक सेवा विस्तार, जापानी भाषा कार्यक्रम सञ्चालन तथा अध्यागमन व्यवस्थापनलाई थप प्रभावकारी बनाउन प्रयोग गरिनेछ। भिसा अवधि सकिएपछि पनि अवैध रूपमा बस्ने विदेशीमाथि निगरानी र कारबाही सुदृढ गर्न समेत यो रकम खर्च गरिने बताइएको छ। जापान सरकारले भिसा तथा बसोबाससम्बन्धी शुल्कलाई अन्तर्राष्ट्रिय स्तरसँग मेल खाने बनाउने उद्देश्यले संशोधन गरिएको जनाएको छ।

सरकारी अधिकारीहरूका अनुसार अमेरिकामा भिसा नवीकरण शुल्क करिब ४२० देखि ४७० अमेरिकी डलरसम्म लाग्ने गर्छ भने जर्मनीमा पनि यस्ता शुल्क ९३ देखि ९८ युरोसम्म पर्ने भएकाले जापानले आफ्नो अध्यागमन प्रणालीलाई दीर्घकालीन रूपमा सुदृढ बनाउन शुल्क पुनरावलोकन गरेको हो।