०६ असार,काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो प्रथम महाधिवेशनका लागि उद्योगी-व्यापारी तथा व्यावसायिक घरानामार्फत चन्दा सङ्कलन नगरेको जनाएको छ।
चितवनमा जारी महाधिवेशनस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका प्रवक्ता मनिष झाले महाधिवेशनका नाममा व्यापारी वा व्यावसायिक समूहलाई रसिद पठाउने पुरानो राजनीतिक अभ्यासलाई रास्वपाले नअपनाएको बताए। ‘हामीले आफ्नो व्यवस्था आफैँ गरेका छौँ। महाधिवेशनका लागि भनेर कुनै व्यापारी वा घरानालाई रसिद पठाएका छैनौँ,’ उनले भने।
रास्वपाले प्रथम महाधिवेशन सञ्चालनका लागि करिब चार करोड रुपैयाँ खर्च हुने अनुमान गरेको छ। उक्त रकम सांसद, केन्द्रीय सदस्य, विभिन्न विभागका पदाधिकारी तथा महाधिवेशन प्रतिनिधिबाट उठ्ने लेबीमार्फत व्यवस्थापन गरिने प्रवक्ता झाले जानकारी दिए। उनका अनुसार पार्टीका सांसदहरूले मासिक १६ हजार ५०० रुपैयाँ लेबी बुझाउँदै आएका छन्, जसबाट प्रत्येक महिना करिब ३२ लाख रुपैयाँ सङ्कलन हुने गरेको छ। केन्द्रीय सदस्यहरूले वार्षिक २५ हजार रुपैयाँ योगदान गर्ने व्यवस्था रहेको पनि उनले बताए। ‘महाधिवेशन प्रतिनिधिबाट मात्रै करिब डेढ करोड रुपैयाँ सङ्कलन हुन्छ,’ उनले भने।
प्रवक्ता झाले शुभेच्छुकहरूलाई भने आन्तरिक रूपमा क्यूआर कोडमार्फत सहयोगको आग्रह गरिएको जानकारी दिए। रास्वपाका अधिकांश नेता तथा कार्यकर्ताको आफ्नै पेशा–व्यवसाय भएकाले महाधिवेशन सञ्चालनका लागि बाह्य चन्दामा निर्भर हुन नपरेको उनको भनाइ थियो। सहभागीहरूले यातायात, आवासलगायतका खर्चसमेत व्यक्तिगत रूपमा व्यवस्थापन गरिरहेको उनले बताए।‘महाधिवेशनमा आउने टिकटदेखि होटल बुकिङसम्मको व्यवस्था सहभागीहरूले आफैँ गरेका छन्। राजनीतिमा आउने व्यक्तिको वैकल्पिक पेशा हुनुपर्छ,’ उनले भने।
व्यापारीसँग आर्थिक सहयोग लिँदा त्यसको बदलामा स्वार्थ जोडिने खतरा रहने उल्लेख गर्दै उनले राजनीतिक दलहरूले व्यावसायिक घरानामा रसिद पठाउने अभ्यास अन्त्य गर्नुपर्ने धारणा राखे।‘जनताका लागि राजनीति गर्छौँ भन्ने, तर व्यापारीसँग पैसा माग्ने प्रवृत्ति सही होइन। सहयोग लिँदा त्यससँग कुनै न कुनै स्वार्थ जोडिन सक्छ,’ उनले भने। रास्वपाको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनको भरतपुरमा आयोजना हुँदैछ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar