|  

ओखलढुङ्गामा बाढीको वितण्डाः७ परिवारको गोठ र पुल बगायो

७ असार, काठमाडौं । भीषण वर्षासँगै आएको बाढी र पहिरोले ओखलढुंगाको चिशंखुगढी गाउँपालिकामा ठूलो क्षति पुर्‍याएको छ ।

शनिबार साँझदेखि परेको भीषण वर्षाले गाउँपालिकाको केन्द्र जोड्ने मुख्य बाटोमै रहेको पक्की पुल बगाउनुका साथै वडा नम्बर १ र २ को सिमानामा रहेको बाङ्गेखोलामा आएको बाढीले स्थानीयका घर र पशुचौपायामा क्षति पुर्‍याएको हो । चिशंखुगढी गाउँपालिका वडा नम्बर ५ मा रहेको गाउँपालिका केन्द्र जोड्ने बाटोको खानीखोलाको पक्की पुल बाढीले बगाएपछि पालिकाको केन्द्रसँगको सम्पर्क विच्छेद भएको छ ।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी खानीभञ्ज्याङबाट खटिएको प्रहरी टोलीले घटनास्थलमा पुगेर विस्तृत विवरण संकलन गरिरहेको छ । यसैगरी, चिशंखुगढी गाउँपालिका वडा नम्बर १ को कुइभिर र वडा नम्बर २ को पोखरेको बीचमा रहेको बाङ्गेखोलामा आएको भीषण बाढीले स्थानीय बासिन्दाको घर र गोठ बगाउँदा ठूलो क्षति भएको छ ।

घर गोठ सँगै त्यस क्षेत्रको १०० रोपनी बढी मकै बाली भएको खेत समेत बगाएको स्थानीयले बताएका छन् । १ नम्बर वडा कार्यालयले क्षतिको विवरण सङ्कल गरी किसानलाई क्षतिपूर्ति दिन माग गरेको छ । टीका भुजेलको गोठ बगाउँदा एक भैँसी, मन नारायण श्रेष्ठको गोठ बगाउँदा दुई गोरु र मनबहादुर सार्कीको गोठ बगाउँदा तीन गोरु बेपत्ता भएका छन्।

त्यसैगरी, वडा नम्बर ५ छहरेका सुरेश नेपालीको गोठ बाढीले बगाउँदा एक भैँसी बेपत्ता भएको र एउटा पाडो मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।बाढीसँगै आएको पहिरोले स्थानीयका घरहरू समेत उच्च जोखिममा परेका छन्।