|  

भारतमा तौल घटाउने सस्तो औषधि उत्पादन सुरू

७ असार, काठमाडौं । मोटोपनको समस्यासँग जुधिरहेका लाखौं मानिसका लागि तौल घटाउने औषधिलाई पछिल्ला वर्षमा स्वास्थ्य क्षेत्रमा ‘गेम चेन्जर’का रूपमा हेरिएको छ ।

ओजेम्पिक, वेगोभी र माउन्जारो नामले चिनिने यी औषधिहरू हालसम्म मुख्य रूपमा डेनमार्क र अमेरिकाका दुई कम्पनीले उत्पादन गर्दै आएका थिए, जसका कारण यी औषधि महँगा थिए ।तर चीन र भारतमा यी औषधिसम्बन्धी पेटेन्टको अवधि समाप्त भएपछि त्यहाँका औषधि कम्पनीहरूले अब सस्ता संस्करण उत्पादन गर्न पाउने भएका छन् ।

पेटेन्ट अवधि सकिएसँगै भारतीय कम्पनीहरूले यस्ता तौल घटाउने औषधिको उत्पादन र बिक्री शुरू गरिसकेका छन् ।

यी औषधिहरू जीएलप–१ वर्गका हुन्, जसले शरीरमा भोक नियन्त्रण गर्ने हर्मोनको प्रभावलाई नक्कल गर्दै खानाको इच्छा कम गराउने र पेट लामो समयसम्म भरिएको महसुस गराउने काम गर्छन् । यसले मानिसहरूलाई कम खाना खान र तौल घटाउन मद्दत पुर्‍याउँछ ।