|  

रास्वपा वैकल्पिक राजनीतिक अभियानको सबैभन्दा ठूलो उपलब्धि : बाबुराम भट्टराई

०७ असार, काठमाडाैं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूले विगत ११ वर्षदेखि अघि सार्दै आएको “नयाँ शक्ति” र वैकल्पिक राजनीतिक अभियानको प्रमुख उपलब्धिका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई लिएको बताएका छन्।

रास्वपाको पहिलो महाधिवेशनमा सम्बोधन गर्दै उनले आफ्नो लामो वैकल्पिक राजनीतिक प्रयासको परिणामस्वरूप रास्वपा उदाएको उल्लेख गरे। “मैले ११ वर्षदेखि नयाँ शक्ति अभियानमार्फत वैकल्पिक राजनीतिको वकालत गर्दै आएको छु। अहिले म रास्वपालाई त्यस अभियानको सबैभन्दा महत्वपूर्ण उपलब्धिका रूपमा हेर्छु,” उनले भने। तर, यस्तो अभिव्यक्तिलाई लिएर समाजमा गलत बुझाइ हुने गरेको भन्दै उनले आलोचना पनि गरे।

“यस्तो कुरा गर्दा समाजले के पाउन खोजेको हो, के लोभ देखियो भन्ने खालको टिप्पणी गर्छ,” उनले भने, “म जीवनको अन्तिम चरणमा पुगेको मान्छे हुँ, प्रधानमन्त्री भइसकेको व्यक्ति हुँ, अब के लोभको कुरा हुन्छ र?”