|  

गगन थापा: ‘हामीले भगवान् बनाउने गल्ती गर्‍यौँ, तपाईंहरू नदोहोर्‍याउनुस्’

०७ असार,काठमाडाैं । चितवनमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन उद्घाटन समारोहमा शुभकामना सन्देश दिँदै गगन थापाले राजनीतिक दलहरूमा नेताप्रति अन्धभक्ति खतरनाक हुने बताएका छन्।

उनले आफ्नो पार्टीको अनुभव स्मरण गर्दै कुनै पनि नेतालाई ‘भगवान्’ वा ‘बा’को रूपमा स्थापित गर्ने प्रवृत्तिबाट टाढा रहन आग्रह गरे। थापाले आफूहरू नेतृत्वलाई समयमै प्रश्न गर्न नसक्दा पार्टीले मूल्य चुकाउनुपरेको उल्लेख गर्दै रास्वपाका नेता-कार्यकर्तालाई विधि र प्रक्रियामाथि प्रश्न उठाउन सक्ने साहस कायम राख्न सुझाव दिए। उनका अनुसार नेतृत्वले नियम मिच्दा वा गलत बाटो समातेमा समयमै आवाज उठाउन सके मात्रै संगठन सुदृढ बन्न सक्छ।

कार्यक्रममा उनले नेपाली कांग्रेस र रास्वपा राजनीतिक प्रतिस्पर्धी भए पनि एकअर्काका शत्रु नभएको स्पष्ट पारे। स्वस्थ प्रतिस्पर्धामार्फत लोकतान्त्रिक राजनीति बलियो बनाउने साझा जिम्मेवारी सबै दलको रहेको उनको भनाइ थियो। कांग्रेसलाई बलियो बनाउने आफ्नो अभियानबारे बोल्दै थापाले अन्य दललाई कमजोर बनाएर होइन, पार्टीभित्र रहेका कमजोरी र विकृतिहरू हटाएर पहिलो शक्ति बन्ने लक्ष्य रहेको बताए। साथै, सरकारका सकारात्मक र जनहितका कामहरूमा कांग्रेसले आवश्यक समर्थन जारी राख्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।