|  

‘रास्वपाको गाडी गन्तव्यमा पुगेपछि मात्रै रोकिन्छ’ : बालेन शाह

०७ असार, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले रास्वपालाई ‘लोकल गाडी’ नभई ‘हाइवेमा गुडिरहेको गाडी’को संज्ञा दिँदै पार्टी आफ्नो लक्ष्य पूरा नभएसम्म नरोकिने बताएका छन्।

आज रास्वपाको महाधिवेशनलाई सम्बोधन गर्दै शाहले पार्टीको भविष्य र सम्भावित राजनीतिक जोखिमबारे व्यक्त गरिएका चिन्ताप्रति प्रतिक्रिया जनाएका हुन्। उनले रास्वपा सही दिशामा अघि बढिरहेको दाबी गर्दै पार्टी अनियन्त्रित नभएको स्पष्ट पारे। “हाम्रो गाडी लोकल होइन, गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ। हाम्रो गाडी अनियन्त्रित छैन, चिन्ता लिनुभएकोमा धन्यवाद,” शाहले भने।

उनले रास्वपा प्रतिशोधको राजनीति गर्ने दल नभएको उल्लेख गर्दै विगतमा भएका अनियमितता र सरकारी सम्पत्तिको दोहनप्रति पार्टी सचेत रहेको बताए। कानुनको पालना गर्दै सुशासन स्थापित गर्ने प्रतिबद्धता दोहोर्‍याउँदै उनले रास्वपा कानुनी दायराभित्रै रहेर अघि बढ्ने बताए। राष्ट्रियताको विषयमा उठ्ने प्रश्नप्रति पनि शाहले स्पष्ट जवाफ दिए। सीमा समस्यालगायत संवेदनशील विषयमा आफ्नो धारणा प्रस्ट रहेको बताउँदै उनले आफ्नो राष्ट्रभक्तिप्रति शंका नगर्न आग्रह गरे। पार्टीभित्र गुट-उपगुटको चर्चा चलिरहेका बेला शाहले नेता बन्न जनताको विश्वास र माया जित्नु नै मुख्य आधार भएको बताए। कुनै एक समूहको समर्थनमा निर्भर नहुन सुझाव दिँदै उनले विभाजनकारी सोचलाई निरुत्साहित गर्नुपर्ने धारणा राखे। “कुनै एउटा समूहको माया जितेर मात्रै हुँदैन। समूह बनाउने पछाडि नलागौं, यस्तो बिउ नरोपौं,” उनले भने।

शाहले वर्तमान कार्यकालमै सुशासन कायम गर्ने, सहकारीलगायतका जटिल समस्या समाधान गर्ने र त्यसपछि आगामी निर्वाचनमा नयाँ एजेन्डासहित जनतामाझ जाने लक्ष्य रहेको समेत बताए।