|  

रोजगार वा भत्ता माग्दै दृष्टिविहीनहरूको माइतीघरमा प्रदर्शन

०८ असार, काठमाडौं । सडकपेटीमा आश्रित दृष्टिविहीन नागरिकहरूले जीविकोपार्जनको अधिकार सुनिश्चित गर्न माग गर्दै सोमबार माइतीघरमा प्रदर्शन गरेका छन्।

उनीहरूले काठमाडौं महानगरपालिकाले सडकपेटी, मठमन्दिर तथा सार्वजनिक चोकहरूमा सानो व्यापार वा काम गरेर जीवनयापन गर्न नदिएको आरोप लगाएका छन्। प्रदर्शनमा सहभागीहरूले राज्यले आधारभूत आवश्यकता र सम्मानजनक जीवनको सुनिश्चितता गर्न नसकेको अवस्थामा वैकल्पिक रोजगारी वा सामाजिक सुरक्षाको व्यवस्था गर्नुपर्ने बताएका छन्। प्रदर्शनका क्रममा दृष्टिविहीन नागरिक सुदीप ओलीले नगरप्रहरीबाट बारम्बार दुर्व्यवहार र नियन्त्रणको सामना गर्नुपरेको गुनासो गरे। उनका अनुसार सडकमा व्यापार गरेर गुजारा चलाउने प्रयास गर्दा नगरप्रहरीले नियन्त्रणमा लिएर होल्डिङ सेन्टरमा राख्ने तथा महिलामाथि समेत असम्मानजनक व्यवहार गर्ने गरेका छन्।

प्रदर्शनकारीहरूले दृष्टिविहीन व्यक्तिहरूलाई उनीहरूको क्षमता र योग्यताअनुसार रोजगारी उपलब्ध गराउन, तथा तत्काल रोजगारी दिन नसकिए मासिक २० हजार रुपैयाँ बेरोजगार भत्ता प्रदान गर्न सरकारसँग माग गरेका छन्। उनीहरूले सडकपेटीमा मर्यादित र व्यवस्थित रूपमा काम गर्न पाउने वातावरण सिर्जना गर्न पनि आग्रह गरेका छन्। दृष्टिविहीन नागरिकहरूको भनाइमा राज्यले समावेशी रोजगारी र सामाजिक सुरक्षाको प्रभावकारी व्यवस्था नगर्दासम्म उनीहरूको जीवनयापन थप कठिन बन्दै गएको छ।