|  

उपत्यकामा ट्राफिक निगरानी कडाः २४ घण्टामा २ हजारभन्दा बढी चालकलाई जरिवाना

०८ असार, काठमाडाैं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने २ हजार ७६ चालक ट्राफिक प्रहरीको कारबाहीमा परेका छन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उक्त कारबाहीबाट राज्यकोषमा १० लाख ५३ हजार ५१० रुपैयाँ राजस्व संकलन भएको छ। कारबाहीमा पर्नेहरूमध्ये ८८ जना मादक पदार्थ सेवन गरेर सवारी चलाउने, ९३ जना नियमविपरीत राइड सेयरिङ गर्ने, ११७ जना ट्राफिक सङ्केत बत्ती उल्लङ्घन गर्ने तथा २२८ जना तीव्र गतिमा सवारी चलाउने चालक रहेका छन्।

त्यसैगरी १२९ जना लेन अनुशासन पालना नगर्ने, ५७ जना निषेधित क्षेत्रमा हर्न बजाउने, ९० जना सडकपेटीमा सवारी पार्किङ गर्ने र ८८ जना एकतर्फी सडक नियम उल्लङ्घन गर्ने चालक पनि कारबाहीमा परेका छन्। ट्राफिक प्रहरीले अन्य विभिन्न सवारी नियम उल्लङ्घन गर्ने १ हजार १८६ चालकलाई समेत कारबाही गरिएको जनाएको छ। कार्यालयले सडक सुरक्षाका लागि नियम पालना गर्न तथा जिम्मेवार ढंगले सवारी सञ्चालन गर्न चालकहरूलाई आग्रह गरेको छ।