|  

इराकलाई ३-० ले हराउँदै फ्रान्स विश्वकप २०२६ को नकआउट चरणमा

०९ असार, काठमाडौं । साविक उपविजेता फ्रान्स फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ ।

फिलाडेल्फिया स्टेडियममा भएको खेलमा इराकलाई ३–० ले हराउँदै फ्रान्स नकआउट चरणमा प्रवेश गरेको हो ।यो फ्रान्सको दोस्रो जित हो । यसअघि पहिलो खेलमा फ्रान्सले सेनेगललाई ३–१ ले पराजित गरेको थियो । खेलको १४औं मिनेटमा कप्तान किलियन एम्बाप्पेले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाएका थिए । पहिलो हाफको खेल सकिँदा भारी वर्षा भएपछि २ घन्टा खेल रोकिएको थियो । ५४औं मिनेटमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । उस्मान डेम्बेलेले ६६औं मिनेटमा गोल गर्दै फ्रान्सको अग्रतालाई तेब्बर बनाए । खेलमा इराकविरुद्ध फ्रान्स हाबी बन्यो । फ्रान्स २ खेलबाट ६ अंक जोड्दै शीर्ष स्थानमा छ । नर्वे एक खेलबाट ३ अंक बनाएर दोस्रो स्थानमा छ । सेनेगल र इराक अंकविहीन छन् ।

खेलपछि फ्रान्सका प्रशिक्षक डिडिएर डेसच्याम्पले इराकविरुद्धको खेल त्यति सहज नभएको बताए । ‘दोस्रो हाफमा खेल पूर्ण रूपमा हाम्रो नियन्त्रणमा थियो, यद्यपि यसअघि जे–जस्ता घटनाहरू घटेका थिए । त्यसलाई विचार गर्दा यो त्यति सहज भने थिएन । तर जित सुनिश्चित गर्नु निकै राम्रो कुरा हो । हामीले आज राती नै अघिल्लो चरणको यात्रा तय गरिसकेका छौँ,’ उनले भने ।