|  

रास्वपाको बन्दसत्र आज दिउँसो २ बजेदेखि, राजनीतिक र संगठनात्मक प्रतिवेदन प्रस्तुत गरिने

०९ असार, काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत बन्दसत्रको संशोधित कार्यतालिका सार्वजनिक गरिएको छ।

नयाँ तालिकाअनुसार बन्दसत्र मंगलबार दिउँसो २ बजेदेखि सुरु हुने भएको छ। पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बन्दसत्रको प्रारम्भमा अनुशासन आयोगका संयोजक रमाकान्त रिमालले आयोगको प्रतिवेदन प्रस्तुत गर्नेछन्। प्रतिवेदनमाथि प्रतिनिधिहरूबीच छलफलसमेत हुने कार्यक्रम तय गरिएको छ। दिउँसो २ः३० बजे कोषाध्यक्ष लिमा अधिकारीले आर्थिक प्रतिवेदन पेश गर्नेछिन्। त्यसपछि प्रतिवेदनमाथि छलफल गरिने कार्यसूची रहेको छ।

यस्तै, ३ बजे महामन्त्री बुर्लाकोटीले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्नेछन् भने त्यसमाथि प्रतिनिधिहरूले धारणा राख्ने अवसर पाउनेछन्। अपराह्न ३ः४५ बजे सहमहामन्त्री विपिनकुमार आचार्यले केन्द्रीय समितिबाट पारित विधान संशोधन प्रस्ताव पेश गर्नेछन्, जसलाई बन्दसत्रबाट अनुमोदन गर्ने तयारी गरिएको छ। कार्यतालिकाअनुसार अपराह्न ४ः४५ बजे उपसभापति स्वर्णिम वाग्लेले अर्थ–राजनीतिक प्रस्तावना प्रस्तुत गर्नेछन्। त्यसपछि साँझ ५ः१५ बजे पार्टी सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ।

महामन्त्री बुर्लाकोटीका अनुसार साँझ ६ः३५ बजे सभापति लामिछानेले अन्तरिम व्यवस्थापन समिति गठनको घोषणा गर्नेछन्। साथै, महाधिवेशन आयोजक समितिले आफ्नो सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई हस्तान्तरण गर्नेछ। यससँगै निर्वाचन आयोगले नेतृत्व चयनलगायत महाधिवेशनका आगामी प्रक्रियाहरू अगाडि बढाउने तयारी गरेको रास्वपाले जनाएको छ।