|  

पाकिस्तानी हवाई क्षेत्रमा छिर्‍यो एयर इन्डियाको विमान

१० असार, काठमाडौं ।  भारतीय विमान सेवा प्रदायक कम्पनी एयर इन्डियाको एउटा यात्रुवाहक विमान प्राविधिक गडबडीका कारण अनियन्त्रित भएर पाकिस्तानको हवाई क्षेत्रमा प्रवेश गरेपछि पुनः भारत फर्काइएको छ ।

सो विमानले दिल्लीबाट अमृतसरका लागि उडान भरेको थियो । एयरपोर्ट अधिकारीहरूका अनुसार एयरबस एआई–३२१ विमान सोमबार राति ९ः१८ बजे दिल्लीबाट उडेको थियो, जुन निर्धारित समयभन्दा केही मिनेट ढिलो थियो ।

उडानका क्रममा प्राविधिक समस्या देखिएपछि विमान आफ्नो निर्धारित मार्गबाट विचलित भई पाकिस्तानको हवाई क्षेत्रमा प्रवेश गरेको बताइएको छ ।

पाकिस्तानको हवाई यातायात नियन्त्रण (एटीसी)ले विमानलाई सीमा उल्लङ्घनबारे चेतावनी दिएपछि पाइलटले तुरुन्तै स्थिति बुझेर विमानलाई भारततर्फ फर्काएका थिए ।