|  

११ जिल्लामा फैलियो बर्ड फ्लु, साढे पाँच लाखभन्दा बढी कुखुरा नष्ट

१० असार, काठमाडौं । नेपालमा बर्ड फ्लु संक्रमण ११ जिल्लासम्म फैलिएको पुष्टि भएको छ।

तीन महिनाअघि मोरङबाट सुरु भएको संक्रमण हाल झापा, सुनसरी, मोरङ, बारा, महोत्तरी, चितवन, नवलपरासी, काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेसम्म पुगेको पशु सेवा विभागले जनाएको छ।संक्रमण नियन्त्रणका लागि हालसम्म ५ लाख ६९ हजार ८५८ वटा कुखुरा नष्ट गरिएको विभागले जानकारी दिएको छ।

त्यसैगरी ९ लाख ८९ हजार ३१३ वटा अण्डा तथा १ लाख ९५ हजार ४८५ किलोग्राम दाना पनि नष्ट गरिएको छ। विभागका अनुसार कोशी प्रदेशमा भने एक महिनाभित्र संक्रमण नियन्त्रणमा ल्याउन सफलता प्राप्त भएको छ। संक्रमित क्षेत्रहरूमा कुखुरा, अण्डा र दानाको ओसारपसारमा कडाइ गरिनुका साथै जोखिमयुक्त फार्महरूमा जैविक सुरक्षा उपायहरू प्रभावकारी रूपमा लागू गरिएको जनाइएको छ। प्रयोगशाला परीक्षणका क्रममा बर्ड फ्लुका एच५एन१ र एच९एन२ भाइरससँगै न्यूक्यासल रोगको संक्रमणसमेत फेला परेको विभागले जनाएको छ। यसले कुखुरा पालन क्षेत्रमा थप सतर्कता अपनाउनुपर्ने आवश्यकता देखिएको छ।

पशु सेवा विभागले किसानलाई संक्रमित वा शंकास्पद कुखुराको व्यवस्थापनमा विशेष सावधानी अपनाउन, मृत कुखुरा खुला स्थानमा नफाल्न तथा फार्ममा जैविक सुरक्षा मापदण्ड अनिवार्य रूपमा पालना गर्न आग्रह गरेको छ। साथै बाहिरी व्यक्तिको प्रवेश नियन्त्रण गर्न र कुखुरा अस्वाभाविक रूपमा बिरामी वा मरेको देखिए तत्काल नजिकको पशु सेवा कार्यालयमा जानकारी गराउन अनुरोध गरेको छ।

पशु सेवा विभागका महानिर्देशक डा. रमेश दाहालले बर्ड फ्लु नियन्त्रण अभियानलाई प्रभावकारी बनाउन सबै सरोकारवाला निकाय, व्यवसायी र किसानको सक्रिय सहयोग आवश्यक रहेको बताएका छन्।