|  

मनसुनबाट ५१ हजार घरधुरी प्रभावित हुने प्राधिकरणको अनुमान, २ लाख २६ हजार नागरिक जोखिममा

१० असार, काठमाडाैं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको मनसुनका कारण देशभर करिब ५१ हजार घरधुरी प्रभावित हुनसक्ने अनुमान गरिएको जनाएको छ । 

यस वर्षको मनसुनबाट ५१ हजार घरधुरी प्रभावित हुनसक्ने र करिव २ लाख २६ हजार विपद्को जोखिममा रहेको प्राधिकरणकी सूचना अधिकारी शान्ती महतले बताए । यही असार ५ गते (शुक्रवार) कोशी प्रदेशबाट नेपाल प्रवेश गरेको मनसुन प्रणाली अझैपनि कोशी प्रदेशमै कमजोर अवस्थामा रहेको छ । मनसुन देशभर सक्रिय हुन अझै केही दिन लाग्ने अनुमान गरिएको छ । मनसुनजन्य विपद्बाट हुने क्षति न्युनिकरण तथा प्रतिकार्यको लागि आवश्यक पूर्वतयारी भइसकेको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका सूचना अधिकारी शान्ति महतकाअनुसार मनसुनजन्य विपद्बाट हुनसक्ने क्षति न्युनिकरणका लागि ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना-२०८३’ स्वीकृत गरी सबै प्रदेश, जिल्ला प्रशासन कार्यालय र स्थानीय तहमा कार्यान्वयनका लागि पठाइसकिएको छ । 

मुलुकका अधिकांश स्थानीय तहले सोही कार्ययोजनालाई आधार बनाएर आफ्नै स्थानीय कार्ययोजना समेत तयार गरी कार्यान्वयनमा ल्याइसकेका छन् । सूचना अधिकारी महतले यस वर्षको मनसुनका कारण देशभर करिब ५१ हजार घरधुरी प्रभावित हुनसक्ने अनुमान गरिएको बताए । २ लाख २६ हजार जनसंख्या मनसुनजन्य विपद्को जोखिममा रहेको समेत महतले जानकारी दिए । उनले प्राधिकरणले मनसुनसँगै खडेरी र अत्यधिक गर्मीबाट उत्पन्न हुनसक्ने जोखिमलाई समेत लक्षित गर्दै पूर्वतयारी तथा प्रतिकार्य योजना कार्यान्वयनमा ल्याएको जनाएको छ ।

उक्त योजनामा अत्यधिक गर्मीको अवस्थामा संघ, प्रदेश र स्थानीय तहका निकायहरूको जिम्मेवारी तथा कार्यक्षेत्र स्पष्ट रूपमा तोकिएको बताए । उनले तातो हावाको लहरको जोखिम कम गर्न समेत सबै तहका सरकारबीच आपसि समन्वय र सहकार्य भइरहेको बताए । उनले यस वर्षको मनसुनबाट लुम्बिनी, कोशी र मधेश प्रदेश मनसुनजन्य विपद्बाट सबैभन्दा बढी प्रभावित हुनसक्ने तथा कर्णाली प्रदेश तुलनात्मक रूपमा कम प्रभावित हुने अनुमान गरिएको बताए । उनले सम्भावित विपद्को सामना गर्न खोज तथा उद्धार सामग्री, राहत सामग्री र अन्य आवश्यक उपकरण विगत वर्षहरूको तुलनामा थप खरिद गरी विभिन्न स्थानमा भण्डारण गरिएको बताए ।

साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनासहित तीनवटै सुरक्षा निकायका तालिमप्राप्त जनशक्ति तथा गोताखोरहरू समेत तयारी अवस्थामा राखिएको महतको भनाइ छ । उनले प्राधिकरणले विपद् प्रतिकार्य, राहत तथा उद्धार कार्यका लागि ११ वटा मन्त्रालयबीच समन्वयको व्यवस्था गरिएको जानकारी दिए । विपद्का बेला नागरिकले प्रयोग गर्ने हेल्पलाइन नम्बर ११४९ को सेवा अब केन्द्रिय स्तरमा मात्र नभई ७७ वटै जिल्ला प्रशासन कार्यालयअन्तर्गतका जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रबाट समेत सञ्चालन हुने व्यवस्था मिलाइएको बताए । विपद्को मनसुनी विपद्को जोखिम भएका क्षेत्रका नागरिकलाई समेत आवश्यक पूर्वतयारीसहित बस्न आग्रह गरेको छ ।