|  

देशभर १ हजार ५४६ विद्यालयमा ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम, स्वास्थ्य सेवामा विद्यार्थीको पहुँच बढ्दै

१० असार,काठमाडौं । विद्यालय तहका बालबालिकालाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सरकारले ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम देशभरका एक हजार ५४६ सामुदायिक विद्यालयमा सञ्चालन गरेको छ।

स्वास्थ्य सेवा विभागकी निर्देशक हीरादेवी निरौलाका अनुसार कार्यक्रममार्फत विद्यालयमै नर्स परिचालन गरी विद्यार्थीको नियमित स्वास्थ्य परीक्षण, उपचार तथा स्वास्थ्य परामर्श सेवा प्रदान भइरहेको छ। हाल ३२७ विद्यालयमा संघीय सरकारमार्फत र बाँकी विद्यालयमा प्रदेश तथा स्थानीय तहको समन्वयमा नर्स खटिएका छन्। उनका अनुसार विद्यालयमा कार्यरत नर्सहरूले विद्यार्थीको समग्र स्वास्थ्य अवस्था, पोषण स्थिति, रक्तअल्पता परीक्षण तथा विद्यालय उपस्थितिको अवस्थासमेत निगरानी गर्ने गरेका छन्। रक्तअल्पता देखिएका विद्यार्थीलाई आवश्यक परामर्शसहित आइरन चक्की सेवन गर्न सुझाव दिने व्यवस्था पनि गरिएको छ।

कार्यक्रमअन्तर्गत विद्यार्थी लामो समय विद्यालय अनुपस्थित भएमा नर्सहरूले अभिभावकसँग सम्पर्क गरी कारण बुझ्ने र आवश्यक परामर्श दिने व्यवस्था गरिएको छ। साथै स्वास्थ्य, सरसफाइ र पोषणसम्बन्धी शिक्षा प्रदान गरेर स्वस्थ जीवनशैली विकासमा समेत जोड दिइएको छ। सरकारले आर्थिक वर्ष २०७६/७७ मा बागमती प्रदेशबाट पाइलट परियोजनाका रूपमा ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम सुरु गरेको थियो। विद्यालय स्वास्थ्य सेवाको पहुँच विस्तार र विद्यार्थीमार्फत परिवार तथा समुदायमा स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउने लक्ष्यसहित सुरु गरिएको कार्यक्रम अहिले देशका विभिन्न जिल्लामा विस्तार भइसकेको छ। यद्यपि आगामी आर्थिक वर्षमा पर्याप्त बजेट विनियोजन नभएकाले थप विद्यालयमा कार्यक्रम विस्तार गर्न चुनौती रहेको निर्देशक निरौलाले बताइन्।

कार्यक्रमको अर्को विशेषता भनेको विद्यालयका एक छात्र र एक छात्रालाई ‘स्वास्थ्य राजदूत’का रूपमा छनोट गरी स्वास्थ्यसम्बन्धी सचेतना अभियान सञ्चालन गर्नु हो। यसबाट विद्यालय मात्र नभई समुदायस्तरमै स्वास्थ्य सचेतना फैलाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।