|  

भटमास तेलले तोड्यो निर्यातको रेकर्ड, ११ महिनामै १ खर्ब २२ अर्बभन्दा बढीको कारोबार

११ असार, काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा नेपालबाट निर्यात हुने वस्तुमध्ये प्रशोधित भटमासको तेल सबैभन्दा ठूलो निर्यातित वस्तु बनेको छ।

भन्सार विभागको पछिल्लो तथ्याङ्कले भटमास तेलले मुलुकको निर्यात व्यापारमा नयाँ कीर्तिमान कायम गरेको देखाएको छ। विभागका अनुसार समीक्षा अवधिमा नेपालबाट १ खर्ब २२ अर्ब ८६ करोड ६३ लाख रुपैयाँ बराबरको प्रशोधित भटमासको तेल निर्यात भएको छ। यो रकम हालसम्मकै उच्चमध्ये एक मानिएको छ। विशेषगरी तेस्रो मुलुकबाट आयात गरिएको कच्चा भटमास तेललाई स्वदेशी उद्योगमार्फत प्रशोधन गरी भारत निर्यात गर्ने प्रवृत्तिले निर्यातमा उल्लेखनीय वृद्धि भएको हो। निर्यातसँगै कच्चा पदार्थको आयात पनि उच्च देखिएको छ। सोही अवधिमा नेपालले १ खर्ब १९ अर्ब ६३ करोड २० लाख रुपैयाँ बराबरको कच्चा भटमास तेल आयात गरेको तथ्याङ्कले देखाएको छ। उद्योगहरूले यही कच्चा पदार्थलाई प्रशोधन गरेर मूल्य अभिवृद्धि गर्दै पुनः निर्यात गरिरहेका छन्।

यता, मुलुकको आन्तरिक आवश्यकताका लागि विभिन्न खाद्यान्नको आयात पनि निरन्तर बढिरहेको छ। ११ महिनाको अवधिमा ५५ अर्ब ९३ करोड ३७ लाख रुपैयाँ बराबरका खाद्यान्न विदेशबाट भित्रिएको भन्सार विभागले जनाएको छ। अर्थतन्त्रका जानकारहरूका अनुसार आयातित कच्चा पदार्थलाई प्रशोधन गरी निर्यात गर्ने ‘भ्यालु एडिसन’ मोडलले नेपालको निर्यात संरचनामा नयाँ आयाम थपेको छ। सीमित स्वदेशी उत्पादनका बाबजुद प्रशोधन उद्योगमार्फत वैदेशिक मुद्रा आर्जन गर्ने क्षमता बढ्दै गएको उनीहरूको विश्लेषण छ।भटमास तेलको निर्यातमा देखिएको तीव्र वृद्धिले नेपालमा औद्योगिक प्रशोधन क्षेत्रको सम्भावना उजागर गरेको छ। यसले परम्परागत निर्यात वस्तुहरूको सूचीमा परिवर्तन ल्याउनुका साथै उद्योगमुखी अर्थतन्त्र निर्माणतर्फ नयाँ संकेत दिएको छ।