|  

२२ असारदेखि थ्रिजी सेवा बन्द गर्दै एनसेल

१५ असार, काठमाडौं ।   निजी क्षेत्रको मोबाइल प्रदायक कम्पनी एनसेलले आफ्नो नेटवर्कलाई थप अत्याधुनिक र शक्तिशाली बनाउने उद्देश्यका साथ आगामी असार २२ गतेदेखि देशका विभिन्न स्थानमा सञ्चालित थ्रिजी  (3G)  सेवा बन्द गर्ने घोषणा गरेको छ ।

नयाँ प्रविधि अपनाउँदै सेवाको गुणस्तरमा स्तरोन्नति गर्ने योजना अनुरूप कम्पनीले यो कदम चालेको हो ।एनसेलले जारी गरेको आधिकारिक सूचना अनुसार पहिलो चरणमा कोसी, मधेस, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न जिल्लाका स्थानीय तहहरूमा थ्रिजी सेवा बन्द गरिनेछ ।

गण्डकी र सुदूरपश्चिम प्रदेशका जिल्लालाई भने यस चरणमा समेटिएको छैन । थ्रिजी सेवा बन्द भए पनि ग्राहकहरूले सञ्चार सेवामा कुनै समस्या झेल्नु नपर्ने र उल्टै अझ उत्कृष्ट अनुभव प्राप्त गर्ने कम्पनीको दाबी छ । कम्पनीका अनुसार हाल एनसेलको फोरजी (4G) नेटवर्कले देशको करिब ९५ प्रतिशत जनसङ्ख्यालाई समेटिसकेको छ ।