|  

सांसदका गतिविधि निगरानी गर्न रास्वपाले ल्यायो ‘पल्स आरएसपी’ डिजिटल प्रणाली

१९ असार, काठमाडौं ।  सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदहरूको गतिविधि डिजिटल माध्यमबाट व्यवस्थापन र अनुगमन गर्ने उद्देश्यले ‘पल्सआरएसपी’ नामक डिजिटल प्रणाली सञ्चालनमा ल्याएको छ।

शुक्रबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले उक्त प्रविधिबारे सांसदहरुलाई अभिमुखीकरण दिएको छ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी सभापति रवि लामिछानेले प्रविधिको प्रयोगमार्फत सांसदहरूबीचको समन्वयलाई प्रभावकारी बनाउने, संसदीय जिम्मेवारीलाई थप व्यवस्थित गर्ने र संसद्को कार्यसम्पादनमा सुधार ल्याउने उद्देश्यले प्रणाली सञ्चालनमा ल्याइएको बताए।

उनले बैठकमा सोही विषयमा अभिमुखीकरण गरिएको बताए। उनले पार्टीका सांसदहरूलाई प्रविधिमैत्री बनाउँदै समन्वयलाई चुस्त बनाउँदा कार्यसम्पादनको प्रभावकारिता बढ्ने विश्वास पनि व्यक्त गरे।

सांसदहरूले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्दै पदको गरिमा कायम राख्न र त्यसबाट नागरिकले प्रत्यक्ष लाभ पाउने वातावरण सिर्जना गर्न अभिमुखीकरण कार्यक्रमलाई निरन्तरता दिइने सभापति लामिछानेको भनाइ छ।

उनले भने, ‘पार्टीका साथीहरुलाई प्रविधिसँग नजिक राख्ने र समन्वयलाई चुस्त बनाउँदा प्रभावकारिता बढ्छ। समन्वयको प्रभावकारिता बढाउने र सांसदको रुपमा हाम्रा सांसदहरू प्रभावकारी बनून्, पदको गरिमा कायम राखून्, संसद्‌समेत प्रभावकारी होस् र नागरिकसम्म त्यसको लाभ पुगोस् भन्ने उद्देश्शयले अभिमुखीकरण गरेका हौँ। यो निरन्तर चलिरहन्छ।’

उक्त प्रणाली लागू भएसँगै सांसदहरूले आफ्ना गतिविधिहरू अनिवार्य रुपमा सिस्टममा अपडेट गराउनुपर्नेछ।