२० असार, काठमाडाैं । नेकपा (एमाले) का सचिव महेश बस्नेतले पार्टी नेतृत्व र नेताहरूविरुद्ध राज्यस्तरबाटै सुनियोजित रूपमा भ्रम फैलाउने कार्य भइरहेको आरोप लगाएका छन् ।
शनिवार ललितपुरमा आयोजित ‘पार्टी जागरण अभियान’ शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै सचिव बस्नेतले डिजिटल प्लेटफर्मको दुरुपयोग गरी एमालेविरुद्ध प्रहार भइरहेको दाबी गरेका हुन् । सचिव बस्नेतले गत वर्षको २३ र २४ गतेका घटनाहरू नेपालमाथिको आक्रमण भएको उल्लेख गर्दै त्यसमा विभिन्न डिजिटल च्यानल र संस्थाहरूको संलग्नता रहेको आरोप लगाए । उनले डिस्कोर्ड च्यानल, ‘हामी नेपाली बर्बरा फाउण्डेसन’ र ‘अमेरिकन युथ काउन्सिल’ जस्ता संस्थाहरू वैदेशिक शक्तिको आडमा परिचालित भएको जिकिर गरे । ती माध्यमहरूबाट बम बनाउने, सरकारी भवन तथा निजी उद्योगहरू जलाउने जस्ता हिंसात्मक गतिविधि सिकाउने कार्य गरिएको उनको भनाइ छ । सरकारले पार्टीका अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष विष्णु पौडेलमाथि प्रतिशोधपूर्ण ढंगले आधारहीन आरोप लगाएको बस्नेतले बताए ।
उपाध्यक्ष पौडेलमाथि लगाइएको जग्गा र उद्योगको शेयरसम्बन्धी आरोपहरू निराधार रहेको भन्दै उनले यस्ता गतिविधिको एमालेले राजनीतिक ‘हिसावकिताव’ गर्ने चेतावनी दिए । सचिव बस्नेतले भने,‘राज्यविरुद्ध आतंक सिर्जना गर्ने प्रयास भइरहेको छ । डिजिटल प्लेटफर्मलाई हाम्रो विरुद्ध भ्रम फैलाउने माध्यम बनाइएको छ । भदौ २३ र २४ गतेका घटना नेपालमाथिको आक्रमण थिए । ती घटनामा डिस्कोर्ड च्यानलको प्रयोगदेखि लिएर ‘वी आर नेपाली’, ‘बारबरा फाउण्डेसन’ र ‘अमेरिकन युथ काउन्सिल’ जस्ता साम्राज्यवादी देशसँग आवद्ध भनिएका समूह तथा सुदन गुरुङद्वारा परिचालित पङ्क्तिहरू प्रयोग गरेर नेपालमाथि हमला गरिएको थियो । त्यहाँ बम बनाउन सिकाइएको थियो, घर जलाउन सिकाइएको थियो । सिंहदरबार जलाइयो, संसद जलाइयो, सर्वोच्च अदालत जलाइयो, निजी उद्योग तथा कारखानाहरू जलाइए र हाम्रा घरहरू पनि जलाइए । आज ती अपराधीहरू सत्ताको छायामा संरक्षित छन् । आजसम्म पनि हाम्रा जलेका घरहरूको क्षतिपूर्ति हामीले पाएका छैनौँ । अर्कोतर्फ, हाम्रा नेताहरूले शपथ ग्रहण गरेको २४ घण्टा पनि बित्न नपाउँदै हाम्रा श्रद्धेय अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गर्ने कुरा गर्ने बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाव राखेको छ । तिमीहरूसँग यसको हिसाब हुनेछ । एक हुन्छ, दुई हुन्छ, तीन हुन्छ । आज विष्णु पौडेलमाथि वाहियात आरोप लगाएर थुनिएको छ । हिजो मालपानीको ८ करोड रुपैयाँको गाडी चढ्ने बालेन साह आज अख्तियारबाट मालपानीलाई चोख्याउने अभियानमा लागेको छ । हिजो दीपक भट्टसँग शेयर लिने सुदन गुरुङ आज ढुक्कसँग हिँडिरहेको छ । अहिले समाचार सुन्दैछौँ–उनी बेपत्ता भएका रे । कुकर्म गर्नेहरू स्वाभाविक रूपमा बेपत्ता हुनेवाला छन् ।’
पार्टीले शुरु गरेको जागरण अभियानमार्फत यि तमाम भ्रमहरूबारे शुरुमा पार्टीका नेता तथा कार्यकर्ता र त्यसपछि आम जनतालाई स्पष्ट पार्दै लैजाने एमालेको योजना रहेको उनले बताए । उनले भ्रमको खेती गर्नेहरूविरुद्ध पार्टी पंक्ति वैचारिक र सांगठनिक रूपमा सशक्त ढंगले प्रश्तुत हुने उद्घोष समेत गरेका छन्।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar