|  

नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा डिजिटल निर्वाचन प्रणाली अपनाउने

२१ असार, काठमाडाैं ।  नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले पार्टीको १५औँ केन्द्रीय महाधिवेशनलाई प्रविधिमैत्री, स्वच्छ र निष्पक्ष बनाउन डिजिटल निर्वाचन प्रणालीलाई प्राथमिकता दिने निर्णय गरेको छ ।

समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काको अध्यक्षतामा आइतबार ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बसेको बैठकले आगामी महाधिवेशन निर्धारित समयभित्र सम्पन्न गर्न यसअघि निर्वाचन समितिमा रहेर काम गरेका पदाधिकारी तथा निर्वाचन अधिकृतहरूको अनुभव, राय र सुझावका आधारमा विभिन्न निर्णय गरेको हो।

बैठकले महाधिवेशनमा प्रविधिको उच्चतम प्रयोग गर्ने लक्ष्यसहित निर्वाचन प्रक्रियालाई कागजरहित (पेपरलेस) प्रणाली वा विद्युतीय मतदान प्रविधिलाई प्राथमिकताका साथ अघि बढाउने निर्णय गरेको जनाएको छ। यसैगरी, निर्वाचन प्रक्रिया सुरु भएपछि लागू हुने निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न केन्द्रीय कार्यसमितिसहित पार्टीका सबै तह र निकायलाई आग्रह गर्ने निर्णय पनि गरिएको छ। विधानमा अन्यथा व्यवस्था भएका बाहेक निर्वाचन अवधिभर आचारसंहिताको पूर्ण कार्यान्वयन गरिने समितिले जनाएको छ।

निर्वाचन व्यवस्थापनलाई समावेशी बनाउने उद्देश्यले काठमाडौं उपत्यकाभित्रका काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका निर्वाचन अधिकृत तथा ती जिल्लाअन्तर्गतका १५ वटै निर्वाचन क्षेत्र, महानगरपालिका र नगरपालिकामा महिला कानुन व्यवसायीलाई प्राथमिकताका साथ निर्वाचन अधिकृतको जिम्मेवारी दिने निर्णय पनि बैठकले गरेको छ।

त्यसैगरी निर्वाचन कार्यमा स्वयंसेवकका रूपमा कानुन व्यवसायी तथा अन्य पेशागत समूहलाई सहभागी गराउन रोस्टर तयार गर्ने, उनीहरूलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गरी आवश्यकता अनुसार निर्वाचन अधिकृतका रूपमा परिचालन गर्ने निर्णय पनि गरिएको सदस्य सचिव राजु कटुवालले जानकारी दिएका छन्।