|  

कोशी अस्पतालको स्वामित्वको जग्गा एक हप्ताभित्र खाली गृहमन्त्री गुरुङको चेतावनी

२१ असार, काठमाडाैं ।  गृहमन्त्री सुधन गुरुङ र स्वास्थ्यमन्त्री निशा मेहताले विराटनगरस्थित कोशी अस्पतालको जग्गामा निमार्ण भएका संरचनाको निरीक्षण गरेका छन्।

आइतबार बेलुकी धनरानबाट विराटनगर आएका दुवै मन्त्रीले कोशी अस्पतालको स्वामित्वमा रहेको जग्गामा निर्माण भएका औषधि पसलदेखि अन्य संरचनाको निरीक्षण गरेका हुन्। कोशी अस्पतालको स्वामित्वमा रहेको जग्गा अरुले लामो समयदेखि उपभोग गर्दै आएका छन्।

गृहमन्त्री गुरुङ र स्वास्थ्यमन्त्री मेहताले उक्त जग्गामा सञ्चालित औषधि पसल सञ्चालकसँग संक्षिप्त कुराकानी पनि गरेका थिए।

उज्जवल फर्मामा उनले पसल सञ्चालनको विषयमा जिज्ञासा राखेका थिए। गृहमन्त्री गुरुङले औषधि पसल सञ्चालनको सम्झौता पत्रबारे जानकारी मागेका थिए। त्यस क्रममा गृहमन्त्री गुरुङले अस्पतालको जग्गाका विषयमा आफूले अध्ययन गरिरहेको बताए।

गृहमन्त्री गुरुङले भने, ‘अबको एक हप्ताभित्र मलाई यो  खाली चाहियो। नोटिस आउँछ। समिति मलाई मतलब छैन।  यो सरकारी जग्गा हो। सरकारी जग्गामा बसेपछि समितिलाई भाडा बुझाउने होइन।’

उनले फर्मा सञ्चालकसँग सोधे, ‘कन्ट्र्याक्ट पेपर  कहाँ छ देखाउनु न। कति रेटमा लिनु भएको हो?’

औषधि पसल सञ्चालकले भने , ‘कन्ट्रयाक्ट पेपर घरमा छ। अहिले मासिक ६० हजार रुपैयाँ भाडा तिर्दै छु।’

त्यसपछि गृहमन्त्री गुरुङले चेतावनी दिँदै भने, ‘औपचारिक रुपमा यो हप्ताभित्र तपाईलाई नोटिस आउँछ। अहिले मैले तपाईलाई भनिनँ। अहिले मैले मौखिक मात्र जानकारी गराएँ। अब औपचारिक रुपमा लेटर आएपछि कुरा गरौँला है।’

यति संवादपछि गृहमन्त्री अर्को एकपसलमा जानकारी लिन पुगे। सर्वसाधारणको भीड बढेपछि उनी त्यहाँबाट अस्पतालभित्र प्रवेश नगरी बाहिरिएका थिए।