|  

स्पेनसँगको भिडन्तअघि रोनाल्डोले भनेः यो मेरो अन्तिम विश्वकप हो

२२ असार, काठमाडौं । पोर्चुगलका भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोले जारी विश्वकप आफ्नो खेल जीवनकै अन्तिम विश्वकप हुने घोषणा गरेका छन् ।

सोमबार टेक्ससको आर्लिङटनमा स्पेनविरुद्ध हुने फिफा विश्वकप २०२६ को अन्तिम १६ को रोमाञ्चक भिडन्तअघि पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो पुष्टि गरेका हुन् ।
४१ वर्षीय रोनाल्डोले सन् २००६, २०१०, २०१४, २०१८, २०२२ र जारी २०२६ गरी लगातार ६ वटा विश्वकप खेल्ने कीर्तिमान बनाइसकेका छन् । यसै संस्करणको समूह चरणमा उज्वेकिस्तानविरुद्ध गोल गर्दै उनी ६ वटा फरक विश्वकपमा गोल गर्ने विश्वकै पहिलो खेलाडी समेत बनेका थिए ।

खेल अगाडिको पत्रकार सम्मेलनको अन्त्यतिर रोनाल्डोले भने, “अहिलेको समय भनेको सकेसम्म खेलको आनन्द लिने हो । यो मेरो अन्तिम विश्वकप हुनेछ, तर आशा गरौँ भोलिको खेल नै मेरो अन्तिम खेल हुने छैन ।”

अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने दिन टाढा नरहेको संकेत गर्दै उनले थपे, “त्यो दिन पनि आउनेछ । तर म इमानदार हुन चाहन्छु, भोलि जेसुकै नतिजा आए पनि क्रिस्टियानोले १०० प्रतिशत होइन, १००० प्रतिशत सफा मन लिएर मैदान छाड्नेछ । किनभने मैले फुटबलका लागि आफ्नो सबैथोक दिएको छु । मलाई अब कुनै कुराको लोभ छैन, मेरो जीवन राम्रो छ, यो त केवल खेलप्रतिको लगाव हो । म फुटबललाई माया गर्ने भएकाले खेल्छु ।”

उनले जारी विश्वकपमा आफूले तीन गोल गरिसकेको स्मरण गराउँदै ठट्टाको शैलीमा आफ्नो प्रदर्शन अझै पनि खराब नरहेको बताए ।