|  

रिसाएर माइत गएकी श्रीमती फकाउन ससुराली जाँदा सालाले जिउँदै जलाएपछि.....

२२ असार, काठमाडौं ।भारतको पञ्जाबको तरनतारन जिल्लाबाट एउटा स्तब्धकारी घटना बाहिर आएको छ।

यहाँ एक पुरुष आफ्नी श्रीमतीसँगको विवाद सुल्झाउन र सम्बन्ध सुधार गर्न ससुराली पुगेका बेला उनका सालोले उनीमाथि प्रज्वलनशील पदार्थ छर्केर आगो लगाइदिएका छन् । यस घटनामा पीडित पुरुष गम्भीर रूपमा जलेका थिए र पछि उनको मृत्यु भएको छ । उनलाई बचाउन दौडिएकी एक महिला पनि आगोको चपेटामा परेर गम्भीर रूपमा घाइते भएकी थिइन् र पछि उपचारका क्रममा उनको पनि मृत्यु भएको छ।

प्रहरीले मृत पुरुषको पहिचान लभप्रित सिंहको रूपमा गरेको छ, जो आफ्नी श्रीमती सन्दीप कौरलाई आफ्नो घर फर्काउन ससुराली पुगेका थिए। प्रहरी अनुसन्धानबाट लभप्रित त्यहाँ पुग्नासाथ उनका सालो साजन सिंहले उनीमाथि कुनै प्रज्वलनशील पदार्थ खन्याएर आगो लगाइदिएको खुलासा भएको छ।

लभप्रितलाई बचाउनका लागि साजन सिंहकी भाउजू गुरजित कौर दौडिएकी थिइन्, तर उनी पनि आगोको चपेटामा परिन् र नराम्ररी जलिन। उनलाई तत्कालै उपचारका लागि अस्पताल भर्ना गरिएको भए पनि उपचारकै क्रममा उनको मृत्यु भयो। प्रहरीका अनुसार यस घटनामा आरोपी साजन सिंह आफैँ पनि जलेका छन् र हाल अस्पतालमा उनको उपचार भइरहेको छ।