|  

बालोगुनको रातो कार्डबारे पुनर्विचार गर्न आग्रह गरेको हूँः डोनाल्ड ट्रम्प

२३ असार, काठमाडौं ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फिफा विश्वकपमा अमेरिकाका फरवार्ड फोलारिन बालोगुनमाथिको एक खेलको प्रतिबन्ध पुनरावलोकन गर्न आफूले फिफासँग आग्रह गरेको स्वीकार गरेका छन् ।

२५ वर्षीय बालोगुन बोस्निया–हर्जेगोभिनाविरुद्धको खेलमा डिफेन्डर तारिक मुहारेमोभिचमाथि गरेको फाउलका कारण रातो कार्ड पाएपछि बेल्जियमविरुद्धको प्रि–क्वार्टरफाइनल खेल गुमाउने अवस्थामा थिए । तर फिफाले उनको स्वतः लाग्ने एक खेलको प्रतिबन्ध १२ महिनाका लागि स्थगित गर्ने अप्रत्याशित निर्णय गरेपछि उनी बेल्जियमविरुद्ध खेल्न योग्य भएका छन् ।

यस निर्णयको यूईएफए, बेल्जियम फुटबल संघ तथा इंग्ल्यान्डका मुख्य प्रशिक्षक थोमस टुचेलले कडा आलोचना गरेका छन् ।बेल्जियम फुटबल संघ (आरबीएफए)ले फिफाको निर्णयप्रति आश्चर्य व्यक्त गर्दै बालोगुनलाई खेलाउन नहुने भन्दै आफ्नो आपत्ति जनाएको छ ।

संघले यसबारे गरेको अपिल भने खारेज भइसकेको छ । ह्वाइट हाउसमा सोमबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले आफूले फिफा अध्यक्ष जियानी इन्फान्टिनोसँग यस विषयमा कुरा गरेको स्वीकार गरे । ‘मलाई त्यो फाउल लागेको जस्तो लागेन, त्यसैले पुनरावलोकन गर्न आग्रह गरेको थिएँ। मैले उनीहरूलाई के गर्नुपर्छ भनेर भनेको होइन। निर्णय आयोगले गरेको हो र त्यो सही निर्णय थियो’ ट्रम्पले भने।