|  

११ जिल्लामा फैलिएको बर्डफ्लु ७ जिल्लामा नियन्त्रणमा, चार जिल्ला अझै निगरानीमा

२३ असार, काठमाडाैं । देशका ११ जिल्लामा देखिएको पन्छी रोग ‘बर्डफ्लु’मध्ये सात जिल्लामा संक्रमण पूर्ण रूपमा नियन्त्रणमा आएको छ।

पशुसेवा विभागका अनुसार झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा रोग नियन्त्रणमा आएको हो। तर, काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोकमा भने संक्रमण पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन। विभागले यी जिल्लालाई अझै उच्च निगरानीमा राखेको जनाएको छ। रोग नियन्त्रणका लागि प्रभावित क्षेत्रमा परिचालन गरिएको प्राविधिक टोलीले संक्रमित पन्छी, अण्डा, दाना तथा अन्य पन्छीजन्य सामग्री नष्ट गरी सुरक्षित व्यवस्थापन गरेको विभागका प्रवक्ता डा. मुकुल उपाध्यायले जानकारी दिए।

संक्रमण फैलिन नदिन पशु क्वारेन्टाइन कार्यालयहरूले सीमा नाका तथा संवेदनशील क्षेत्रमा निगरानी बढाउँदै अवैध रूपमा ओसारपसार गरिएका पन्छीसमेत नियन्त्रणमा लिएर नष्ट गरेका थिए। अहिले केही जिल्लामा अवस्था सामान्य बन्दै गएपछि पन्छी ओसारपसारमा लगाइएको कडाइ क्रमशः खुकुलो बनाइएको विभागले जनाएको छ। विभागले किसानहरूलाई जैविक सुरक्षामा ध्यान दिन र शंकास्पद लक्षण देखिए तत्काल जानकारी गराउन आग्रह गरेको छ।