|  

अर्थमन्त्री वाग्ले: सरकारका सय दिनका ८७.२ प्रतिशत काम पूरा, अर्थ मन्त्रालयका सबै जिम्मेवारी सम्पन्न

२३ असार,काठमाडाैं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले आफ्नो सय दिनको अवधिमा तय गरिएका अधिकांश लक्ष्य पूरा गरेको दाबी गरेका छन्।

मंगलबार राष्ट्रिय सभा बैठकमा अर्थ मन्त्रालयको विनियोजन शीर्षकमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले सरकारको आन्तरिक मूल्यांकनअनुसार सय दिनका कार्यक्रममध्ये ८७ दशमलव २ प्रतिशत काम सम्पन्न भएको जानकारी दिएका हुन्। मन्त्री वाग्लेले सरकारले आफैँले तय गरेका कडा मापदण्ड पूरा गर्दै अघि बढ्नु उल्लेखनीय उपलब्धि भएको बताए। उनका अनुसार केही कामहरू अझै निरन्तर प्रक्रियामा रहेका छन् भने विधेयक पारित तथा अघि बढाउने विषय सरकारको एकल नियन्त्रणमा नहुने भएकाले अपेक्षाअनुसार गति लिन नसकेको हो। उनले अर्थ मन्त्रालयको जिम्मेवारीमा परेका सय दिनका सबै कार्यक्रम पूरा भएको दाबी गरे। “अर्थ मन्त्रालयले सय बुँदामा उल्लेख गरिएका आफ्ना सबै कामहरू सम्पन्न गरेको छ,” उनले भने।

अर्थमन्त्री वाग्लेले निर्वाचनअघि जनतासामु गरेका प्रतिबद्धताअनुसार नै सरकारले काम गरिरहेको पनि बताए। उनले सरकार आफ्नो कार्यसम्पादनलाई परिणाममुखी बनाउने प्रयासमा रहेको उल्लेख गरे।