|  

मेसीलाई जिताउन इजिप्टमाथि अन्याय गरिएको आरोप

२४ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को अन्तिम १६ को खेल सकिन ११ मिनेट बाँकी रहँदासम्म इजिप्ट इतिहासकै ठूलो सफलता नजिक थियो ।

विश्व विजेता अर्जेन्टिना विरुद्ध २–० को अग्रता लिएर इजिप्ट क्वार्टरफाइनलमा पुग्ने तयारीमा थियो।तर, अन्तिम समयमा अर्जेन्टिनाले ३ गोल गरेपछि इजिप्टको त्यो सपना चकनाचुर भयो। इजिप्टका खेलाडी र प्रशिक्षकहरू यो हारलाई स्वभाविक मान्न तयार छैनन्, उनीहरूले यसलाई स्पष्ट अन्याय भनेका छन्।

इजिप्ट १–० ले अगाडि रहेको बेला मोस्तफा जिकोले गरेको अर्को उत्कृष्ट गोललाई भारले खारेज गरिदियो। गोल हुनुभन्दा १७ सेकेन्ड अगाडि इजिप्टका मिडफिल्डर मारवान अतियाले अर्जेन्टिनाका डिफेन्डर लिसेन्द्रो मार्टिनेजलाई सामान्य छोएको भन्दै रेफ्रीले त्यसलाई फाउल घोषित गरे। खेल २–२ को बराबरीमा रहेको बेला अर्जेन्टिनाको पेनाल्टी बक्सभित्र मोहम्मद सालाहलाई लडाइएको थियो।

तर, रेफ्रीले पेनाल्टी दिएनन् र त्यसको केही सेकेन्डमै अर्जेन्टिनाले काउन्टर अट्याक गरेर विजयी गोल गर्‍यो।खेलपछि इजिप्टका प्रशिक्षक होसाम हसानले फिफा र रेफ्रीमाथि कडा टिप्पणी गरे। उनले भने, ‘हामीमाथि अन्याय भएको छ। सायद उनीहरू विश्व च्याम्पियन अर्जेन्टिनालाई नै प्रतियोगितामा टिकाइराख्न चाहन्थे। सायद उनीहरू मेसीलाई अझै अगाडि बढाउन चाहन्थे।

अर्जेन्टिनालाई हरेक तहमा समर्थन मिलिरहेको छ।’प्रशिक्षक हसानले विरोध स्वरूप आफ्नो दुवै हात क्रस गरेर रेफ्रीलाई देखाएका थिए, जुन फिफाको नियम अनुसार रंगभेदविरुद्धको संकेत हो। यसै कारण उनलाई पहेँलो कार्ड र टोलीका एक कर्मचारीलाई रातो कार्ड दिइएको थियो।