|  

त्रिपुरेश्वर आत्मदाह प्रयासपछि बालेन्द्र शाहको पुरानो अभिव्यक्ति पुनः चर्चामा

२६ असार, काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय नजिक २५ वर्षीय गणेश नेपालीले आत्मदाहको प्रयास गरेको घटनाले तीन वर्षअघि संसद् भवनअगाडि भएको प्रेमप्रसाद आचार्यको घटनालाई पुनः स्मरण गराएको छ ।

गणेश नेपालीको शरीरको ५० प्रतिशतभन्दा बढी भाग जलेको छ र उनको सघन उपचार कक्ष (आईसीयू)मा उपचार भइरहेको छ । यस घटनापछि सामाजिक सञ्जालमा तत्कालीन काठमाडौं महानगरपालिकाका मेयर तथा हालका प्रधानमन्त्री बालेन शाहले २०७९ सालमा प्रेमप्रसाद आचार्यको आत्मदाह प्रयासपछि लेखेको फेसबुक स्टाटस पुनः चर्चामा आएको छ।

त्यतिबेला बालेनले ‘सबैभन्दा ठूलो कारण राज्य हो र सबैभन्दा भयानक सङ्केत राज्यको चरम असफलताको हो’ भन्दै नागरिकलाई निराशाको अवस्थामा पुर्‍याउने परिस्थितिप्रति राज्य जिम्मेवार रहेको टिप्पणी गरेका थिए। साथै, यस्ता घटना दोहोरिन नदिन सीप विकास र रोजगारीका अवसर सिर्जना गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका थिए।

हालको घटनापछि केहीले सामाजिक सञ्जालमा तत्कालीन अभिव्यक्ति र वर्तमान अवस्थाबीच तुलना गर्दै टिप्पणी गरिरहेका छन्। यद्यपि, प्रधानमन्त्री बालेन्द्र शाहले गणेश नेपालीको घटनाबारे हालसम्म कुनै सार्वजनिक प्रतिक्रिया दिएका छन् भन्ने आधिकारिक पुष्टि भएको छैन।