|  

साउनमा पशुपतिनाथ दर्शनार्थीको सहजताका लागि विशेष सफाइ अभियान सुरु

२७ असार, काठमाडाैं । साउन महिनामा भगवान् पशुपतिनाथको दर्शन र पूजाआराधनाका लागि आउने भक्तजनको चापलाई ध्यानमा राख्दै पशुपति क्षेत्र विकास कोषले विशेष सफाइ अभियान सुरु गरेको छ।

शिव आराधनाका लागि पवित्र मानिने साउन महिना र सोमबारका दिन पशुपति क्षेत्रमा भक्तजनको अत्यधिक भीड लाग्ने भएकाले सेवा व्यवस्थापनलाई सहज बनाउन अभियान सञ्चालन गरिएको कोषले जनाएको छ। कोषका कार्यवाहक सदस्य सचिव एवं कोषाध्यक्ष मीनाकुमारी श्रेष्ठका अनुसार शनिबारदेखि सुरु गरिएको अभियानअन्तर्गत पहिलो दिन पशुपतिनाथको मूल मन्दिर क्षेत्रदेखि सूर्यघाटसम्म सरसफाइ गरिएको छ। अभियानलाई आगामी दिनमा पनि निरन्तर अघि बढाइने उनले बताइन्। श्रेष्ठका अनुसार आइतबार मूल मन्दिर बन्द भएपछि विशेष रूपमा सूक्ष्म सफाइ गरिनेछ। उक्त अभियानमा सुरक्षा निकायको समेत सहभागिता रहनेछ।

पहिलो दिनको सरसफाइ कार्यक्रममा एक दर्जनभन्दा बढी सङ्घसंस्थाले सहभागिता जनाएका थिए। कोषले नियमित रूपमा प्रत्येक हप्ताको शनिबार सफाइ अभियान सञ्चालन गर्ने तयारी गरेको छ। साउन महिनाभर भने भक्तजनको चाप र आवश्यकताअनुसार आइतबारसहित अन्य दिनमा पनि विशेष सरसफाइ अभियानलाई निरन्तरता दिइने कोषले जनाएको छ।