|  

विपद् व्यवस्थापनमा उच्च सतर्कता अपनाउन मुख्यमन्त्री शाहको निर्देशन

२७ असार, काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएका छन्।

प्रदेश विपद् व्यवस्थापनसम्बन्धी कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहले विभागीय मन्त्री, सचिव तथा सुरक्षा निकायका प्रमुखहरूलाई सम्भावित विपद्को सामना गर्न आवश्यक तयारीसहित सजग अवस्थामा रहन आग्रह गरे। उनले जोखिमयुक्त क्षेत्रको पहिचान गरी समयमै सूचना प्रवाह, उद्धार तथा राहतका कार्यक्रमलाई प्रभावकारी बनाउने गरी तयारी गर्न निर्देशन दिए। विपद्का बेला जनधनको क्षति न्यूनीकरण गर्न पूर्वतयारी र समन्वयलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो।

मुख्यमन्त्री शाहले विपद् व्यवस्थापनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकाय, साझेदार संस्था, निजी क्षेत्र र तीनै तहका सरकारबीच सहकार्य आवश्यक रहेको बताए। आपतकालीन अवस्थामा प्रभावित क्षेत्रमा तत्काल परिचालन हुन कमाण्ड पोस्टलाई सक्रिय बनाउँदै प्रभावकारी समन्वय गर्न पनि उनले सम्बन्धित पक्षलाई निर्देशन दिए।