|  

गणेश नेपालीको न्याय माग्दै वीर अस्पताल अगाडि प्रदर्शन

२७ असार, काठमाडाैं । आत्मदाह गरेर ज्यान गुमाएका मुगुका गणेश नेपालीको न्यायको माग गर्दै काठमाडौंस्थित वीर अस्पताल अगाडि प्रदर्शन गरिएको छ।

शनिबार दिउँसो भएको प्रदर्शनमा सहभागीहरूले सरकार र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विरोध जनाएका थिए। प्रदर्शनकारीहरूले प्रधानमन्त्री बालेन शाह र रास्वपा सभापति रवि लामिछानेको नाम उल्लेख गर्दै नाराबाजीसमेत गरेका थिए।

प्रदर्शनका कारण वीर अस्पताल आसपासको सुरक्षा व्यवस्था कडा पारिएको छ। यसैबीच, गणेश नेपालीको शव आफन्तले अझै बुझेका छैनन्। उनको शव पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा राखिएको छ।

सरकारी पक्षले नेपालीको परिवारसँग शुक्रबारदेखि वार्ता सुरु गरे पनि अहिलेसम्म सहमति जुट्न सकेको छैन। परिवारले उठाएका माग सम्बोधनका लागि वार्ता जारी रहेको बताइएको छ।