|  

आत्मदाहका घटनाप्रति महेश बस्नेतको चिन्ता, सरकारमाथि लगाए गम्भीर आरोप

२७ असार, काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पछिल्लो समय बढिरहेका आत्मदाहका घटनाप्रति चिन्ता व्यक्त गर्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै बस्नेतले नागरिकमा बढ्दो निराशा, आक्रोश र असहायपनको अवस्था सिर्जना हुनुमा वर्तमान बालेन सरकार जिम्मेवार रहेको आरोप लगाए। उनले मुगुका गणेश नेपालीको आत्मदाह घटनापछि उत्पन्न आक्रोश सेलाउन नपाउँदै सर्लाहीको गोडैता नगरपालिकाका २५ वर्षीय विवेक मण्डल र काठमाडौं बुद्धनगरका ४५ वर्षीय अश्विन राउतले समेत आत्मदाहको प्रयास गरेको उल्लेख गरे। यस्ता घटना अत्यन्त दुःखद भएको भन्दै उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। बस्नेतले लगातार भइरहेका यस्ता घटनाले नागरिकहरू किन यति धेरै निराश र असहाय बन्न पुगे भन्ने विषयमा गम्भीर समीक्षा आवश्यक रहेको बताए।

उनले वर्तमान सरकारले पुराना दल र नेताहरूमाथि आरोप लगाउँदै जनतामा ठूलो अपेक्षा सिर्जना गरे पनि त्यसअनुसार परिणाम दिन नसक्दा निराशा र असन्तुष्टि बढेको दाबी गरे। नेता बस्नेतले नेतृत्वको मुख्य जिम्मेवारी जनतालाई भ्रम होइन, भरोसा दिनु रहेको बताए। समस्याको समाधान संवाद, जिम्मेवारी र सुशासनमार्फत खोजिनुपर्ने उनको भनाइ छ। जीवनभन्दा ठूलो केही नरहेको उल्लेख गर्दै उनले आत्मदाह वा हिंसा कुनै पनि समस्याको समाधान हुन नसक्ने बताए। यस्तो अवस्था रोक्न सरकार गम्भीर नभए जनताको आक्रोशले सरकारलाई नै संकटमा पार्न सक्ने चेतावनीसमेत उनले दिएका छन्।